मंगलबार, जेठ २६, २०८३

नेपालका मुख्य सहरमा निर्यात हुन्छ ताराखोलाको ढुंगा

 |  शनिबार, भदौ १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १६, २०८०

गलकोट- बागलुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ढुंगा बिक्रीबाट ३१ लाख रुपैयाँ आम्दानी गरेको छ। गत आवमा पालिकाको कुल ७४ लाख रुपैयाँ आम्दानीमध्ये सबैभन्दा बढी ढुंगा बेचेरै भएको थियो।

National life

पालिकाले कार्यविधि बनाएर ढुंगा उद्योग दर्ता र सञ्चालन गर्दै आएको छ। अघिल्लो आवको तुलनामा गत आवमा पालिकाको आम्दानी १६ लाख रुपैयाँ बढेको गाउँपालिकाले जानकारी दिएको छ।

ढुंगा निर्यात गर्दै आइरहेको ताराखोला गाउँपालिकाभित्र एक सय युवाले ढुंगा उद्योगबाट प्रत्यक्ष रोजगारी पाएको गाउँपालिकाले जानकारी दिएको छ। पछिल्लो समय नेपालमा आयातित टायल र मार्बलको विकल्प ताराखोलाको स्लेट ढुंगा बन्दै आएकले स्थानीय तहमा रोजगारी पनि बढाएको गाउँपालिकाको दाबी छ।

पालिकामा अहिले १२ वटा ढुंगा उद्योग दर्ता भइसकेका छन् भने पाँच वटा उद्योगले नियमित ढुंगा निर्यात गरिरहेका छन्। ताराखोला गाउँपालिका–५ मा पिके ढुंगा उद्योग सञ्चालन गरी २२ जना स्थानीयलाई प्रत्यक्ष रोजगारी दिएका पृथ्वी सुवेदीले यहाँ उत्पादित ढुंगाको माग उच्च रहेको बताए।

उनले आफूले तयार पारेको ढुंगा काठमाडौँ, पोखरा, बुटवललगायत नेपालमा मुख्य सहर तथा स्थानमा निर्यात भइरहेको बताए। यहाँका ढुंगा विभिन्न सहरमा खपत भइरहेको र मार्बलको विकल्प बनिरहेको उनको भनाइ छ। ‘केही आफ्नो जग्गा र केही भाडामा जग्गा लिएर उद्योग सुरु गरेको छु,’ उनले भने, ‘यहाँ ढुंगा बोक्ने ट्याक्टर ड्राइभरले समेत रोजगारी पाएका छन्, मुख्य बाटोमा पुर्‍याएपछि ट्रकमा लोड गरी विभिन्न स्थानमा ढुंगा पुर्‍याइन्छ।’

Shivam cement

यसका लागि विभिन्न स्थानमा डिपोसमेत राखिएको उनको भनाइ छ। ताराखोलाको स्लेट ढुंगा ब्राण्ड भइसकेको भन्दै उनले परम्परागत घर छाउन प्रयोग हुने ताराखोलाको स्लेट ढुंगा अहिले आधुनिक घरका भित्तामा टास्न र भुँईमा छाप्न प्रयोग हुन थालेको बताए।

यस्तै ताराखोला गाउँपालिका–२ अर्गलका चरण घर्तीले जिसिजी ढुंगा उद्योगमार्फत १५ जनालाई प्रत्यक्ष रोजगारी दिएको जानकारी दिए। उनले आफूले उत्पादन गरेको ढुंगा चितवन, पोखरा र दाङसम्म निर्यात हुने गरेको बताए।

अन्य स्थानको ढुंगाभन्दा यहाँको ढुंगा बलियो र राम्रो भएको भन्दै उच्च माग भएकाले मागअनुसार ढुङ्गा पुर्‍याउन मुस्किल भइरहेको उनको भनाइ छ। ताराखोलाको ढुंगा विभिन्न साइजमा ग्राहकको मागअनुसार आकार दिइँदै आएको छ।

पछिल्लो समय पदमार्ग, पार्किङ र बगैँचामा यहाँकोस्लेट ढुंगा प्रयोग हुन थालेको छ। ‘अहिले आर्थिक मन्दीका कारण विकास निर्माण र घर निर्माणको काम कम हुँदा ढुंगाको बजार केही घटेको मात्रै देखिन्छ,’ घर्तीले भने, ‘तर आकाशे रङको ढुंगा ताराखोलाको भन्ने ब्राण्ड देशभर भइसक्यो, ताराखोलामा ढुंगा उत्पादन गर्न सकेमा बजारको समस्या छैन।’

पालिकाको मुख्य आम्दानीको स्रोत ढुंगालाई बनाएको भन्दै ढुंगा उद्योग दर्ताका लागि स्थानीयलाई प्रोत्साहन गरिरहेको ताराखोला गाउँपालिकाका राजश्व शाखा प्रमुख देविलाल सापकोटाले बताए।

पालिकाको आर्थिक कार्यविधिअनुसार प्रतिवर्गफिट दुई रुपैयाँका दरले कर तथा ठेक्कामार्फत निकासी कर संकलन गर्दै आइरहेको सापकोटाको भनाइ छ। पालिकाले ढुंगा उद्योग दर्ता गर्न ३० हजार रुपैयाँ र नवीकरण गर्न २५ हजार रुपैयाँ शुल्क तोकेको छ।    -रासस

प्रकाशित: Sep 02, 2023| 09:22 शनिबार, भदौ १६, २०८०
प्रतिक्रिया दिनुहोस्