मंगलबार, असार २४, २०८२

मध्य बर्खामा पनि पानीकै पिरलो

जताततै पानीको छ्यालब्याल हुनुपर्ने बर्खामा पनि एक भाँडो पानी थाप्नकै लागि आधा रातमा उठेर लाइन बस्न दगुर्नु यहाँका स्थानीयको बाध्यता हो।
 |  शुक्रबार, भदौ १५, २०८०
nespernesper

शंकर श्रेष्ठ

शंकर श्रेष्ठ

शुक्रबार, भदौ १५, २०८०

vianetvianet

धादिङ- धादिङको धुनीबेंसी नगरपालिका-७ मा पर्ने गुर्दुम गाउँमा मध्य बर्खाको समयमा पनि खानेपानीको समस्या छ। यो गाउँ धुनीबेंसी लेकको नामले पनि परिचित छ। पृथ्वी राजमार्गको नौबिसेबाट करिब तीन घण्टाको पैदल यात्रापछि पुगिने गुर्दुम गाउँमा खानेपानीको भने सास्ती हुने गरेको छ।

यहाँ खानेपानी थाप्ने छुट्टै नियम छ। गाउँभरिमा एउटै मात्र धारो छ। बिहान उज्यालो नहुँदै गाउँलेहरु गाग्रो, जर्किन, बोत्तल बोकेर धारोमा पुग्छन्। टाढादेखि आउन ढिला हुनेहरुले अघिल्लो दिन साँझ नै पानी थाप्ने भाँडा लाइनमा राखेर जान्छन्। एक घरले बढीमा चार भाँडामात्र पानी थाप्न पाउने नियम छ। जस्तोसुकै अवस्थामा होस्- कसैले पनि पालो उछिन्न नपाइने नियमलाई सबैले पालना गर्नैपर्छ। 

स्थानीय शेरबहादुर तामाङले भने, 'सबैले चार/चार भाँडा थाप्ने नियम छ, पुगेन भने भाँडो त्यहीँ थन्क्याएर भोलिपल्ट मात्रै थाप्न पाइन्छ।' उनका अनुसार यहाँ अहिले पनि खानेपानी पुगेको छैन। 

जताततै पानीको छ्यालब्याल हुनुपर्ने बर्खामा पनि एक भाँडो पानी थाप्नकै लागि आधा रातमै उठेर लाइन बस्न दगुर्नु यहाँका स्थानीयको बाध्यता हो। भौगोलिक हिसाबले संघीय राजधानी काठमाडौंबाट नजिक र नगरपालिकाभित्र पर्ने भए पनि यो गाउँ विकट मानिन्छ। पानी, बत्ती र बाटो तीनै पूर्वाधारबाट यहाँका स्थानीय वञ्चित छन्। शेरबहादुरले भने, 'मध्य बर्खामा पनि पानी पैंचो मागेर प्यास मेटाउनु हाम्रो बाध्यता हो। पैंचो नपाएका बेला आकाशेपानीले नै प्यास मेटाइरहेका हुन्छौं।'

गुर्दुम गाउँका ६८ घरधुरीका लागि एउटामात्रै धारा छ। 'भएको एउटा धारामा पनि पानी कहिले आउँछ टुंगो हुँदैन। धारामै पानी आए पनि धित मर्ने गरी पानी खान पाइँदैन', उनले भने, 'खोलाको पानीलाई दुई वटा मेसिनको सहायताले धारामा ल्याइने गरेको छ। बत्तीको पावरले त्यति नधान्ने भएकाले धारामा नियमित पानी आउँदैन।' मेसिनको सहायताले धारामा ल्याइएको पानी ६ महिना मुस्किलले खान पाइने भन्दै शेरबहादुरले बाँकी ६ महिना खोला धाउनुपर्ने बाध्यता रहेको बताए।

स्थानीय कविता तामाङका अनुुसार पोखरीडाँडामा पानी जम्मा गर्ने एउटा सानो ट्यांकी छ। 'गाउँभन्दा धेरै तलबाट मोटर लगाएर तानिएको छ। दैनिक पाँच हजार लिटर पानी ट्यांकीमा जम्मा हुन्छ', उनले भनिन्, 'पाँच हजार लिटर पानीले ६८ घरपरिवारले प्यास मेटाइरहेका छन्।' एक घरले दैनिक अधिकतम चार भाँडो अर्थात् ८० लिटरका दरले पानी भागमा पाउने उनले जानकारी दिइन्।

माइक्रो हाइड्रोपावरको बत्ती प्रयोग गरेर पानी तानिएको भन्दै बिजुलीको क्षमता नभएकाले ठूलो मोटरले पानी तान्न नसकने कविताले बताइन्। गाउँमा बिजुली बिग्रिएको बेला एक दिन थापेको चार भाँडो पानीले दुई/तीन दिन धान्नुपर्ने यहाँका स्थानीयको बाध्यता छ। 'त्यो पनि हावाहुरी चलेका बेला बिजुली बिग्रियो भने आकाशे पानी थापेर खानु सबैको बाध्यता हो', उनले दुःख सुनाइन्।

गाउँको धारोमा पानी भाग नपुगेको दिन आतेजाते पाँचदेखि ६ घण्टा लगाएर पानी बोक्नुपर्ने बाध्यता रहेको कविताले बताइन्। 'खोलामा पानी लिन जान सबैभन्दा नजिक घर हुनेले पनि अप्ठ्यारो बाटो दुई घण्टा ओरालो झर्नुपर्छ', उनले भनिन्, 'पाखुरे, काउलेखोला, फुर्लुङ डाँडाबाट झर्नेलाई त तीन घण्टा नै लाग्छ।'

पानीको दुःखले भोकनिन्द्रा केही नलाग्ने स्थानीय मैना तामाङले सुनाइन्। खानेपानी कसरी जुटाउने, वस्तुभाउलाई कहाँबाट ल्याउने भन्ने चिन्तामा यहाँका स्थानीयको दिन बित्ने गरेको छ। खाना पकाउन आकाशे पानीको प्रयोग गर्ने गरिएको बताउँदै उनले खोलामा बाढी आएका बेला आकाशेपानी नै खाने गरेको बताइन्। 'लुगा धुन, नुहाउन खोलामा नै जान्छन्', मैनाले भनिन्, 'पानीको जोहो गर्दैमा एक बिहान सकिन्छ, काम गर्न पनि भ्याइँदैन।'

घरको काम, खेतबारी, बालबच्चा हेरचाह, मेलापात गुर्दुमवासीको दैनिकी हो। सरकारले सहरबजारमा खानेपानी पुर्‍याउन करोडौंको लागतमा आयोजना सञ्चालन गरे पनि गुर्दुमवासीलाई खानेपानीको सधैं कष्ट छ। 'हिउँदमा त खोलाको दूषित पानी खानुपर्ने बाध्यता छ', मैनाले भनिन्, 'गाउँमा खानेपानीको आयोजना सञ्चालन नहुँदा दशकौंदेखि स्थानीयले खोलाको पानीले प्यास मेटाउँदै आएका छन्।'

जताततै पानीको छ्यालब्याल हुनुपर्ने बर्खामा एक भाँडो पानी थाप्नकै लागि आधा रातमै उठेर लाइन बस्न दगुर्नु यहाँका स्थानीयको बाध्यता हो।

'देशमा कैयौंपटक सरकार परिवर्तन भए। कैयौं मन्त्री फेरिए। ‘घरघरमा सिंहदरबारको’ नारासहित दोस्रो पटक स्थानीय सरकार बदलियो। सानासाना बोत्तल र ग्यालिन बोकेर खानेपानी लिन खोला धाउनुपर्ने बाध्यता भने ज्यूँ का त्युँ छ', स्थानीय ६७ वर्षिया साइँली तामाङले भनिन्। हिउँदमा खोलामा पानी लिन जानेको लाम हुने गरेको उनको भनाइ थियो। पिठ्युँमा खानेपानीको ग्यालिन बोकेर तिर्खा मेटाउनु यहाँका स्थानीयको नियति हो।

'गाउँको बीचमा दुई वटा आहाल बनाएर आकाशे पानी जमाउने गरिएको छ। वस्तुभाउलाई दिन प्रयोग गर्ने गरिएको दुई वटामध्ये एउटा आहाल यो वर्ष सुख्खै छ', साइँलीले भनिन्, 'आहाल सुधार गर्न वरपर ढुंगाको वाल उठाउन थालेकाले आकाशे पानी पनि जमाउन सकिएको छैन।' ‘एक घर एक धारा’ तीनै तहका सरकारको नीति तथा कार्यक्रम भए पनि कार्यान्वयन नहुँदा उपभोक्ता वर्षौंदेखि खानेपानीको सास्ती व्यहोर्न बाध्य छन्। गत आर्थिक वर्षमा दुई वटा ट्यांकी निर्माण गरी पानी ल्याउने योजना बनाइए पनि मुहानबाट ट्यांकीसम्म पानी पुर्‍याउन नसकिएको स्थानीय बताउँछन्।

यस्तो छ योजना
‘फियान नेपाल’ नामक गैरसरकारी संस्थाको सहयोगमा बजेट माग्दै स्थानीय नगरपालिका गएपछि आर्थिक वर्ष २०७८-७९ मा खानेपानीका लागि ४० लाख बजेट विनियोजन भएको थियो। उक्त रकममा दुई वटा ट्यांकी निर्माण गरिएको छ। एउटा गाउँको सिरानमा र अर्काे गाउँको बीच भागमा छ।

आर्थिक वर्ष २०८०-८१ मा ६१ लाखमा पलभिस कन्स्ट्रक्सनले दुई योजना निर्माणको जिम्मा पाएको थियो। गाउँको सिरानसम्म एउटै लिफ्टिङबाट सम्भव नभएपछि प्राविधिक सल्लाहअनुसार दुई वटा लिफ्टिङ गरेर पानी तान्ने योजना बनेको ठेकेदार कम्पनीका प्रमुख सुनिल शर्माले जानकारी दिए। उनका अनुसार पहिलो लिफ्टमा बीचको ट्यांकीमा जम्मा गर्ने दोस्रो लिफ्टमा बीचको ट्यांकीबाट सिरानको ट्यांकीमा हालेर गाउँमा वितरण गर्ने योजना छ। 

यसै वर्ष खोलाको पानी ५० हजार लिटर संकलन गरी ट्यांकीमार्फत गाउँसम्म पुर्‍याउने उद्देश्यले काम थालिएको प्रमुख शर्माले बताए। असारमै काम सक्नुपर्ने भए पनि वर्षामा भौगोलिक विकटता, निर्माण सामग्रीको अभावलगायत कारणले काम रोकिएको उनको भनाइ थियो। पानी तान्ने पाइप गाउँसम्म पुर्‍याइएको भन्दै उनले अब छिट्टै पुनः काम थाल्ने तयारी भइरहेको जानकारी दिए।

राष्ट्रिय प्रसारण लाइनको बिजुली गाउँमा नपुग्नु अर्काे समस्या रहेको स्थानीय उर्मिला तामाङले बताइन्। 'बिजुली बत्तीका लागि गाउँमा खम्बा पनि गाड्न थालेको एक वर्ष भयो। अहिलेसम्म सबै ठाउँमा खम्बार र तार पुगेको छैन', उनले भनिन्, 'सरकारी बिजुली आइदिए ठूलो मोटरले पानी तान्ने आश यो वर्ष पनि अधुरै बनेको छ।'

गाउँमा खम्बा गाडिए पनि पानी तान्ने खोलासम्म खम्बा र तार पुर्‍याउन बाँकी नै रहेको उर्मिलाले बताइन्। 'बिजुलीको सुविधा आएदेखि पानीको पनि सुविस्ता हुन्थ्यो कि भन्ने आशमा छौं', उनले भनिन्।  -रासस

प्रकाशित: Sep 01, 2023| 16:45 शुक्रबार, भदौ १५, २०८०
प्रतिक्रिया दिनुहोस्