मंगलबार, असार २४, २०८२

धनकुटा र तेह्रथुमका कृषि फार्मलाई करिब ४ करोड अनुदान

 |  बिहीबार, भदौ १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १४, २०८०

vianetvianet

धनकुटा- धनकुटा र तेह्रथुमका पशुपक्षीपालक कृषकले करिब चार करोड अनुदान रकम पाएका छन्।

आव २०७९/८० मा दुई जिल्लाका एक सय ५८ वटा पशुपालनसम्बन्धी व्यक्तिगत फार्म, समूह र सहकारीलाई उक्त अनुदान उक्त अनुदान उपलब्ध गराइएको हो। सम्बद्ध कृषकहरूले धनकुटास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ कार्यालयमार्फत विभिन्न सात शीर्षकमा कोशी प्रदेश सरकारको कार्यक्रमबाट ७५ प्रतिशत अनुदान रकम पाएका हुन्।

कार्यालयका अधिकृत पुष्पराज दाहालका अनुसार एक सय वटा दूधजन्य तथा पशुपक्षीपालक संस्था र ५८ वटा बाख्रा फार्मलाई बोयर बोका अनुदानमा उपलब्ध गराइएको थियो। दूधजन्य उत्पादन कार्यक्रमअन्तर्गत १० लाख ३० हजार एक सय ३५ रूपैयाँ बराबरको मोटरसहितको च्यापकटर ३५ थान वितरण गरिएको थियो।

त्यस्तै युवालक्षित पशुविकास कार्यक्रमअन्तर्गत २५ वटा फार्मलाई ४९ लाख ४१ हजार तीन सय रूपैयाँ र सहकारी संस्थामार्फत पशुपालन कार्यक्रमअन्तर्गत एक संस्थालाई तीन लाख ४६ हजार पाँच सय ३९ रूपैयाँ अनुदान दिइएको थियो।

बाख्राको बृहत्तर पकेट प्याकेज कार्यक्रमअन्तर्गत दुई वटा फार्मलाई ८९ लाख ८९ हजार नौ सय रूपैयाँ र द्वन्द्वपीडित पशुपक्षीपालन कार्यक्रमअन्तर्गत ६ वटा फार्मलाई १६ लाख ३७ हजार एक सय ३४ रूपैयाँ अनुदान दिइएको थियो।

त्यस्तै दूध उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत ३१ संस्थालाई एक करोड ९५ लाख दुई हजार २१ रूपैयाँ अनुदान दिइएको थियो। कार्यालयले दुई जिल्लाका ५८ बाख्रापालक फार्मलाई ३९ लाख ३० हजार रूपैयाँ बराबरको ५८ वटा उन्नत जातको बोयर बोका वितरण गरेको थियो।

जिल्लागतरुपमा धनकुटाका ८७ वटा र तेह्रथुमका ७१ वटा दुग्धजन्य तथा पशुपक्षीपालक फार्म तथा संस्थाले अनुदान पाएका थिए। जसमा धनकुटाका ५७ र तेह्रथुमका ४३ वटा दुग्ध उत्पादक तथा पशुपक्षीपालक फार्महरू र बोयर बोका अनुदानतर्फ धनकुटाका २८ र तेह्रथुमका ३० वटा बाख्रा फार्मले अनुदान पाएका थिए।

स्थलगत भ्रमण गरेर अनुदान रकम प्रदान गरिएकाले अनुदानको उचित सदुपयोग भएको धनकुटास्थित भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयका प्रमुख लोकनाथ ढुंगानाले जानकारी दिए।

आगामी दिनमा अनुदान नीति निर्धारण गर्न आउँदो वर्ष अन्य अनुदान घटाएर दुग्ध उत्पादनमा आधारित अनुदानलाई विशेष जोड दिइने र गत वर्ष प्रदान गरिएको अनुदानको प्रभावकारिताको अनुगमन गरिने उनको भनाइ थियो।

दुई जिल्लामा हाल पाँच सय ७२ वटा व्यावसायिक पशुपक्षी फार्म रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ। तीमध्ये धनकुटामा सबैभन्दा धेरै एक सय ५२ वटा व्यावसायिक बाख्रा फार्म छन्। त्यस्तै जिल्लामा एक सय २५ वटा गाईभैँसी, एक सय ११ बंगुर र ६९ वटा व्यवसायिक कुखुरा फार्म रहेका छन्।

तेह्रथुम जिल्लामा पनि सबैभन्दा धेरै ५२ वटा व्यावसायिक बाख्रा फार्म छन्। त्यस्तै जिल्लामा २९ गाईभैँसी, २५ बंगुर फार्म र नौ वटा व्यावसायिक कुखुरा फार्म रहेको कार्यालले जनाएको छ।

डेरी तथा दुग्ध संकलन केन्द्रतर्फ धनकुटामा ३४ दुग्ध संकलन केन्द्र र १८ वटा डेरी उद्योग सञ्चालनमा छन्। तेह्रथुम जिल्लाको भने कार्यालयमा तथ्यांक आइनपुगेको कार्यालयले जानकारी दिएको छ।

अहिले धनकुटामा ६२ हजार पाँच सय ७५ गाई, १७ हजार दुई सय भैँसी, १८ लाख एक हजार तीन सय ७१ बाख्रा, ३९ हजार दुई सय ४० बंगुर, तीन सय आठ भेडा र ४० लाख एक हजार चार सय ५४ कुखुरा छन्।

त्यस्तै तेह्रथुम जिल्लामा गाई ५८ हजार २७, भैँसी २७ हजार ८१, बाख्रा एक लाख २७ हजार दुई सय ३७, बंगुर ३७ हजार पाँच सय ४६, भेडा नौ सय ४० र कुखुरा दुई लाख २५ हजार चार सय ९६ रहेको कार्यालयले जनाएको छ।

प्रकाशित: Aug 31, 2023| 21:02 बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्