शनिबार, साउन ९, २०८३

कुवापानी पहिरोले जलजलाका सात घर विस्थापित

कुवापानी पहाडबाट खसेको पहिरोले जलजलाका पूर्णगाउँ, मूलघडेरी, नेपानेका सात वटा घर विस्थापित भएका छन् भने झन्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत।
 |  बिहीबार, भदौ १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १४, २०८०

पर्वत– पर्वतको जलजला गाउँपालिकामा वडा नम्बर ५ को कुवापानी पहाडबाट खसेको पहिरोले बस्तीमा ठूलो क्षति पुर्‍याएको छ। कुवापानी पहाडबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मूलघडेरी, नेपानेका सात वटा घर विस्थापित भएका छन् भने झन्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ। 

असार दोस्रो सातादेखि पानी परेको समयमा आएको लेदोसहितको पहिरोले हालसम्म सात वटा घरपरिवार विस्थापित भएको जलजला–२ का निवर्तमान वडाध्यक्ष गोविन्द खत्रीले जानकारी दिए। ‘पानी पर्नासाथ पहिरो खस्ने समस्या छ, अहिले सात वटा परिवारले बस्दै आएको घर छाडेर अन्यत्र विस्थापित भएका छन्’, खत्रीले भने।

उनका अनुसार नगेन्द्र कार्की, पदम कार्की, रवीन पुन, डम्बर खत्री, लालबहादुर जिसी, रेशमबहादुर काकी र डेकबादुर कार्की गरी सात वटा घर जोखिममा छन्। दुई वटा परिवार काठमाडौं बस्न थाले पनि अहिले पाँच वटा परिवार विचल्ली अवस्थाका रहेको उनको भनाइ छ।

पाँच परिवार अहिले स्थानीय सामुदायिक भवन र आफन्तको घरमा शरण लिन बाध्य छन्। पहाड चिरा–चिरा परेर बसेका कारण पानी परेको समय त्यस क्षेत्रका बस्ती निकै खतरामा परेका छन्। 

कुवापानीको जंगलबाट आएको पहिरोसहितको लेदोले आफ्नो मात्रै झन्डै ५० रोपनी बढी जमिन बगर बनेको पहिरोबाट विस्थापित पदम कार्कीले बताए। पहिरोले खेतबारीमा लगाएको मकै, सिमी, कोदो, धान नष्ट गरेको छ।

पहिरोकै कारण पूर्णगाउँमा रहेको वराहताल लेदोले पुरिएको छ। त्यहाँ रहेका कार्की र घर्तीका दुई मन्दिरमा क्षति पुगेको छ। त्यसैगरी मल्लाज हुँदै मालगाउँबाट म्याग्दीको नागीजाने सडक पूर्णरुपमा क्षतिग्रस्त भएको छ। जलजलाका निवर्तमान अध्यक्ष यामबहादुर मल्लले मानवीय क्षति नभए पनि पहिरोले ठूलो भौतिक क्षति भएको बताए।–रासस

प्रकाशित: Aug 31, 2023| 15:50 बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्