मंगलबार, असार २४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • प्रहरी मुख्यालयको साइबर ब्युरो भवन शिलान्यास, अपराध अनुसन्धान थप प्रभावकारी हुने

प्रहरी मुख्यालयको साइबर ब्युरो भवन शिलान्यास, अपराध अनुसन्धान थप प्रभावकारी हुने

भवन निर्माणपछि साइबर अपराधको अनुसन्धान तथा नियन्त्रणका लागि ब्युरोको क्षमता स्तरोन्नति भई नागरिकलाई साइबर अपराधबाट जोगाउन थप प्रभावकारी कोरियाली राजदूत योङको विश्वास।
 |  बिहीबार, भदौ १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १४, २०८०

vianetvianet

काठमाडौं– नेपाल प्रहरीको मुख्यालय साइबर ब्युरोको सामाखुसीमा निर्माण हुने भवनको शिलान्यास गरिएको छ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र दाता नेपालका लागि कोरियाली राजदूत पार्क ताई योङले संयुक्त रूपमा भवन निर्माणार्थ भूमिपूजन गरेका हुन्।

कार्यक्रममा राजदूत पार्क ताई योङले वर्तमान समयमा बढ्दै गएको साइबर अपराधको अनुसन्धान तथा नियन्त्रणका लागि नेपाल प्रहरीले साइबर ब्युरोको क्षमता स्तरोन्नति गर्दै आमनागरिकलाई साइबर अपराधबाट जोगाउन थप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।  आगामी दिनमा साइबर ब्युरोको क्षमता अभिवृद्धिका लागि नेपाल प्रहरीसँग आपसी सहयोग तथा सहकार्य गरिने उनले बताए। 

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विज्ञान र प्रविधि क्षेत्रमा देखिएको विकास नेपालमा मात्र नभई हाल विश्वमै ठूलो आयाम र चुनौतीको रूपमा खडा भएको हुँदा प्रहरीको कार्यक्षेत्रमा समेत ठूलो परिवर्तन ल्याएको औंल्याए।

उनले आगामी दिनमा साइबर अपराधसँग सम्बन्धित विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका लागि साइबर ब्युरोको संरचना सुदृढीकरण, प्रविधि र दक्ष जनशक्ति उपलब्धता अत्यन्त जरुरी भएको बताए।

प्रहरी महानिरीक्षक कुँवरले कोरियाबाट उपलब्ध सहयोगले प्रहरीको संस्थागत विकासको सन्दर्भमा दूरगामी महत्त्वको सुरुआती चरण हुने विश्वास व्यक्त गरे। उनले साइबर ब्युरो निर्माण गर्न कोरियाली सरकार, कोइका र कोरियाली जनताको प्रशंसा गर्दै उहाँले निर्माण हुने भवन नेपाल र कोरियाबीच मित्रताको प्रतीकको रूपमा रहने चर्चा गरे।

कार्यक्रममा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोईका) नेपालका कन्ट्री डाइरेक्टर मोहिओन कोङले भवन निर्माणपछि प्रहरीको साइबर ब्युरोको स्तरोन्नति र जनशक्तिको क्षमता अभिवृद्धि गरी  अपराध नियन्त्रणमा प्रभावकारी ढंगबाट कार्यसम्पादन गर्न सहजीकरण हुने बताए। 

सो अवसरमा साइबर ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्याल, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृत, कोइका प्रतिनिधि, स्थानीय निकायका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, प्रहरी अधिकृतलगायत उपस्थित थिए।

प्रकाशित: Aug 31, 2023| 12:00 बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्