काठमाडौं– प्रहरीले विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ।
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–८ रुद्रमती डेरा गरी बस्ने बाँके नेपालगञ्ज उपमहानगर–१३ का २६ वर्षीय विशाल बुढाथोकीलाई अवैध लागूऔषध ब्राउनसुगर १३ ग्राम ५ मिलिग्राम, २ थान मोबाइल र नगद २१ हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई अवैध लागूऔषध ब्राउनसुगर १ ग्रामसहित बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी मैनाली पुल नजिकबाट पक्राउ गरेको थियो। थप अनुसन्धानको क्रममा उनको डेरा कोठाबाट थप १२ ग्राम ५ मिलिग्राम लागूऔषध फेला परेको हो।
बाराको जितपुरसिमरा उपमहानगर–१ पथलैयाबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ५ सय ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा कालिकामाई गाउँपालिका–१ भेडियारीका ३५ वर्षीय लालबाबु आलम र पर्सा वीरगन्ज महानगर–१५ लक्ष्मणवाका ३५ वर्षीय शेख सिकन्दर मिया रहेका छन्।
इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले ना.५२ प ५१४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो।
बाँकेको नेपालगन्ज उपमहानगर–२ सेतु विक चोकबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ९ सय मिलिग्रामसहित सोही उपमहानगर–१ धम्बोझी बस्ने ३२ वर्षीय सेराज खानलाई प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।