शनिबार, साउन ९, २०८३

सर्पले डसेपछि घरमै झारफुक गर्दा महिलाको मृत्यु

 |  बुधबार, भदौ १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १३, २०८०

विषालु सर्पले डस्दा यहाँ एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीया पार्वती घटाल रहेको जनाइएको छ।

मंगलबार राति भान्सामा खाना बनाइरहेकी घटाललाई सर्पले टोकेको र आज बिहान १ बजेतिर मृत्यु भएको पञ्चेश्वर स्वास्थ्य चौकीका इन्चार्ज सुरेश सार्कीले जानकारी दिए। सर्पको टोकाइबाट गम्भीर घाइते भएकी घटालको झारफुक गर्दागर्दै मृत्यु भएको हो।

'सर्पले टोकेलगत्तै अस्पताल लैजानुको साटो वैद्यलाई बोलाएर झारफुक गर्नको पछि लाग्नुभएछ', स्वास्थ्यचौकी इन्चार्ज सार्कीले  भने, 'हामीलाई भर्खर मात्रै थाहा भयो, सर्पले टोकेपछि झारफुकको साटो अस्पताल लगेको भए ती महिलाले अकालमै ज्यान गुमाउनु पर्दैनथ्यो होला।'  

प्रहरीको टोली अहिले घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। जिल्ला अस्पतालमा सर्पदंशको उपचार हुने भए पनि अस्पताल नल्याउँदा सर्पले टोकेकाहरू अकालमै ज्यान गुमाउन बाध्य भएका छन्।

पञ्चेश्वरमा मात्रै सर्पको टोकाइबाट यस वर्ष तीन जनाको ज्यान गइसकेको छ। यसअघि  साउन अन्तिम साता पञ्चेश्वर–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको र  गत वैशाख तेस्रो हप्ता पञ्चेश्वर–२ डाँगा टोलकी २५ वर्षीया निर्मला लुहारको सर्पले टोक्दा मृत्यु भएको थियो।

प्रकाशित: Aug 30, 2023| 15:40 बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्