काठमाडौं– पाल्पाको जोर्तेमा गुडिरहेको जिपमाथि ढुंगा खस्दा पुरिएर मृत्यु भएका तीनै जनाको परिचय खुलेको छ। आज बिहान तम्घासबाट बुटवलका लागि छुटेको लु१ज ४६०० नम्बरको स्कार्पियो जोर्तेमा ढुंगासहितको सुक्खा पहिरोले पुरिएको हो।
दुर्घटनामा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा गुल्मीको रेसुंगा नगरपालिका–७ की ५० वर्षीया मनकला चुँदारा, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत तानसेन पाल्पाका प्रहरी सहायक हवल्दार अन्दाजी वर्ष ३२ का यमबहादुर गोदार र पोखरा महानगर–२५ का विनोद तिम्सिना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।
दुर्घटनामा घाइते भएका ८ जनाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ भने चालक सकुशल रहेको प्रहरीका सूचना अधिकारी थापाले जानकारी दिए।
जोर्ते सडक माथिबाट झरेको ढुंगासहितको सुक्खा पहिरोले स्कार्पियोको पछाडिको भाग क्षतविक्षत भएको छ।