बिहीबार, असार २६, २०८२

लागूऔषधसहित पक्राउ परे सात जना

प्रहरीले कैलाली, विराटनगर, काठमाडौं, बारालगायत स्थानबाट अवैध लागूऔषधसहित सात जनालाई नियन्त्रणमा लिएको हो।
 |  मंगलबार, भदौ १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १२, २०८०

vianetvianet

काठमाडौं– प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ। कैलालीको टीकापुर नगरपालिका–६ नारायणपुरस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ६० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँका २२ वर्षीय सुरज चौधरी र १८ वर्षीय किशोर रहेका छन्। इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो। 

मोरङको विराटनगर महानगर–१५ स्थित एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब १ ग्राम ०२ मिलिग्रामसहित सप्तरी औरही गाउँपालिका–५ बस्ने २१ वर्षीय नितिशकुमार यादवलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार काठमाडौंको दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ९४ एम्पुल, फेनारगन १ सय ९६ एम्पुल र नुर्फिन २ सय एम्पुलसहित काठमाडौं महानगर–२४ मखनटोलका ५० वर्षीय अनिल महाजुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको मधेस प्रदेश–०३–००१ ज ०३८५ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो। 

बाराको कोल्हबी नगरपालिका–२ भलुवाहीखोरबाट अवैध लागूऔषध गाँजा ५ किलोसहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा निजगढ नगरपालिका–१३ बस्ने ३८ वर्षीय बलराम लामा, २७ वर्षीय अनिल लामा र ३५ वर्षीय शुकराम स्याङतान रहेका छन्।

अस्थायी प्रहरी पोष्ट झुरझुरबाट खटिएको प्रहरीले तामागढीबाट कोल्हबीतर्फ आउँदै गरेको ना२ह१४०० नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो। सबै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 29, 2023| 14:02 मंगलबार, भदौ १२, २०८०
प्रतिक्रिया दिनुहोस्