पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने फरक फरक स्थानमा पाँच जना मृत फेला परेका छन्।
प्रहरीका अनुसार कास्की, पोखरा महानगरपालिका-८ सभागृह चोकस्थित सडकमा ग.२२ प ७९५१ नम्बरको स्कुटरलाई बागमती प्रदेश ०३-००१- क ००२१३ नम्बरको ट्रकले सोमबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक तनहुँ घर भएकी २० वर्षीया वर्षा कुमालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बारा, कलैया उपमहानगरपालिका-१८ स्थित सडकमा प्र.२-०३-००७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक प्रसौनी गाउँपालिका-१ बस्ने ३२ वर्षीय रबी गुप्ताको मृत्यु भएको छ। दुर्घटनमा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल प्रसौनी हुँदै थप उपचारको लागि एनएमसी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
मोरङ, उर्लाबारी नगरपालिका-४ स्थित सडकमा प्र.१-०२-०५२ प ४२४१ नम्बरको मोटरसाइकललाई प्र.३-००१ क ००९५ नम्बरको टिपरले मंगलबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरी तिरहुत गाउँपालिका-५ बस्ने २८ वर्षीय निरज यादवको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
मृत फेला
मोरङ, उर्लाबारी नगरपालिका-९ चक्रेटोल बस्ने ६० वर्षीय कमान सिंह लिम्बु सोही ठाउँस्थित धानखेतमा सोमबार मृत अवस्थामा फेला परेका छन्।
बारा, कोल्हबी नगरपालिका-१ डेरा गरी बस्ने सिम्रौनगढ नगरपालिका-४ घर भएका ३० वर्षीय देव मुखिया बिन डेरा घर बाहिर मंगलबार मृत अवस्थामा फेला परेका छन्।
झापा, भद्रपुर नगरपालिका-९ घोडामारा बस्ने सोमनाथ सिग्देलकी छोरी २ वर्षीया निर्जला सिग्देल सोही ठाउँस्थित नालीमा सोमबार मृत अवस्थामा फेला परेकी छिन्। सोही ठाउँस्थित केदारेश्वर शिव पञ्चायन मन्दिर अगाडि खेलिरहेकी उनी हराएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी घोडामारा खटिएको प्रहरीले स्थानियबासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा शव फेला परेको हो।
गोरखा, गोरखा नगरपालिका-११ बाह्रकिलो चोकस्थित पशु संकलन केन्द्रभित्र पालुङटार नगरपालिका खोरलाङ बस्ने ३५ वर्षीय अर्जुन नेपाली सोमबार मृत अवस्थामा फेला परेका छन्।
धादिङ, निलकण्ठ नगरपालिका २ र १४ स्थित पलाखु खोलामा हाल नाम, थर, वतन नखुलेका पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन्। सवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
डुबेर दुई जनाको मृत्यु
दाङ, लमही नगरपालिका-३ मजगाउँ बस्ने निसान चौधरीकी छोरी १ वर्षीया निचिता चौधरीको सोही ठाउँस्थित कुलोमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ। डुबेर अशक्त भएकी उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
यसैगरी दाङ, तुलसीपुर उपमहानगरपालिका-१८ बिजौरी डेरा गरी बस्ने रूकुम पश्चिम मुसीकोट नगरपालिका-११ चौखाबाङ घर भएकी लिला वलीकी छोरी २ वर्षीया रिया वलीको सोही ठाउँस्थित कुलोमा डुबेर सोमबार साँझ मृत्यु भएको छ। डुबेर अशक्त भएकी उनको तुलसी अस्पताल तुलसीपुर दाङमा उपचारको क्रममा मृत्यु भएको हो। दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।