बिहीबार, असार २६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • २२ लाख क्षतिपूर्ति र डाक्टरमाथि कारबाहीको सहमतिपछि परिवारले बुझे मृतक चौधरीको शव

मल्टिस्पेसिलियालिटी अस्पतालको लापर्वाहीः

२२ लाख क्षतिपूर्ति र डाक्टरमाथि कारबाहीको सहमतिपछि परिवारले बुझे मृतक चौधरीको शव

पत्थरीको अप्रेसनका क्रममा मिर्गौलाको नसा काटिएपछि अत्यधिक रक्तश्राव हुँदा डाक्टरले पुनः अप्रेसन गरेर बायाँ मिर्गौला झिकिदिएको आफन्तको दाबी छ।
 |  मंगलबार, भदौ १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १२, २०८०

vianetvianet

काठमाडौं–  कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको पत्थरीको अप्रेसन गर्दा नसा काटिएपछि अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको घटनामा धनगढीस्थित स्वस्तिक मल्टिस्पेसियालिटी अस्पतालले मृतकका परिवारलाई  २२ लाख क्षतिपूर्ति दिन सहमत भएको छ।

पत्थरी अपरेसन गर्दा मिर्गौलाको नसा काट्न डाक्टरमाथि कारबाही गरिने सहमतिपछि मृतकको परिवारले शव बुझेका छन्। अस्पतालको लापर्वाहीका कारण चौधरीको मृत्यु भएपछि उचित क्षतिपूूर्ति र चिकित्सकलाई कारबाही माग गर्दै आन्दोलित आफन्त सुरुमा १ करोड क्षतिपूर्तिमा अडिग रहे पनि अस्पतालका पदाधिकारीसँग भएको छलफलपछि २२ लाख रुपैयाँ दिने सहमति जुटेको थियो।

पत्थरीको अप्रेसनका क्रममा मिर्गौलाको नसा काटिएपछि अत्यधिक रक्तश्राव हुँदा डाक्टरले पुनः अप्रेसन गरेर बायाँ मिर्गौला झिकिदिएको आफन्तको दाबी छ।आइतबार दिउँसो ३ बजे काका (चौधरी) को बायाँ मिर्गौलामा दुई वटा र दायाँ मिर्गौलामा एउटा पत्थरी छ भन्दै बायाँ मिर्गौलामा रहेको पत्थरी झिक्न अप्रेसन गरिएपछि मृत्यु भएको भतिजा राजकुमारले बताएका थिए।

तर अप्रेसन गरेको करिब एक घन्टापछि अस्पतालको शय्यामा भेट्न जाँदा काकाले पेट दुख्यो भनेपछि डाक्टरलाई बोलाइएको उनले सुनाए। त्यसपछि डाक्टरले डाक्टरले सुई लगाइदिनासाथ पेट फुल्न थालेको आरोप उनले लगाएका थिए।

‘राती ८ बजेतिर काकालाई झनै गाह्रो भएपछि डाक्टरलाई जानकारी गराउँदा किड्नीको नसा काटिएकाले रगत बगेको बताए। सोही कारण काकाको किड्नी झिक्न डाक्टरले सल्लाह दिएपछि परिवार सहमत भएको थियो’, भतिजा चौधरीले भनेका थिए।

तर किड्नीको अप्रेसन गरेसँगै काकाको स्वास्थ्य अवस्था झनै जटिल भएपछि आईसियुमा राखेर उपचार गरे पनि बचाउन नसकिएको उनले बताएका थिए। काकाको मृत्युपछि अस्पतालका अध्यक्ष महेश जोशीले परिवारलाई चाहिने जति रकम दिने तर बाहिर हल्ला नगर्न भनेको भतिजा राजकुमारले दाबी गरेका थिए।

अस्पतालले मृतक चौधरीका छोराको पढाइ र छोरीको बिहेका लागि २२ लाख रुपैयाँको चेक परिवारलाई हस्तान्तरण गरेको बताइएको छ।

शल्यक्रियामा संलग्न डा. जोनेश तिवारीमाथि कारबाहीका लागि सिफारिस गर्ने सहमतिपछि आफूहरुले शव बुझेको उनले जानकारी दिए। अस्पतालले चौधरीको मृत्युको कारणबारे विज्ञप्तिमार्फत आधिकारिक धारणा सार्वजनिक गरिने बताएको छ।

प्रकाशित: Aug 29, 2023| 11:21 मंगलबार, भदौ १२, २०८०
प्रतिक्रिया दिनुहोस्