मंगलबार, जेठ २६, २०८३

इलामको उच्च पहाडी क्षेत्रमा पुग्यो प्रसारण लाइन

 |  मंगलबार, भदौ १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १२, २०८०

इलाम- बिजुली अभावका कारण समस्या भोग्दै आएका इलामको उच्च पहाडी क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुगेको छ।

National life

सञ्चार र विद्युत्को उज्यालोबाट टाढा रहेका उच्च पहाडी क्षेत्रमा विद्युत् पुगेपछि गोठ सञ्चालकको दैनिकी फेरिएको छ। आठ वर्षदेखि गोठ सञ्चालन गर्दै आएका सन्दकपुर गाउँपालिका–२ का शिव राईले विद्युत् पुगेपछि दैनिकी नै परिवर्तन भएको बताए।

गोठमा टुकी पन्छाएर सोलार जडान गरेका राईलाई विद्युत्को केन्द्रीय प्रसारण लाइन पुगेपछि सुरक्षित भएको अनुभूति भएको छ।

इलामको उच्च पहाडी क्षेत्र बन्दुके क्षेत्रमा अहिले विद्युत्को उज्यालो छ। घना जङ्गलको बीचमा सञ्चालनमा आएको गोठमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुगेको हो।

अर्का स्थानीय रुकमान शेर्पाले भने, ‘हाम्रो अर्थतन्त्रको आधार नै गोठ राखेर पशुपालन गर्नु हो। सडक, खानेपानी सञ्चार, विद्युत्लगायत आधारभूत सुविधाविहीन गोठमा विद्युत् पुगेपछि स्वर्गझै भएको छ।’ 

Shivam cement

विद्युत् पुगेपछि जङ्गली जनावरको आक्रमणमा पनि कमी आएको छ। गोठमा पालिएका बाख्रा, गाई र चौँरीको रेखदेखका लागि विद्युत् विस्तारले सहयोग पुगेको हर्कमान मुखियाको भनाइ छ।

आधारभूत सुविधा नभएको क्षेत्रमा विद्युत् पुगेपछि घरधन्दा गर्न पनि सहज भएको गोठ सञ्चालिका सञ्जीला राईले सुनाए।

इलामको उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारी, कालपोखरी, बिखेभञ्ज्याङ बन्दुके, धुपी, आहाललगायत क्षेत्रमा गोठ राखेर पशुपालन हुँदै आएको छ। व्यावसायिक रुपमा पशुपालन गरिएका क्षेत्रमा विद्युत्को उज्यालो पुर्‍याउने योजनाअनुसार विद्युत् विस्तारको काम हुँदै आएको सन्दकपुर–२ का अध्यक्ष सनम राईले बताए।

विद्युत्को उज्यालो नपुग्दा मोबाइल चार्ज गर्न पनि घन्टौं धाउनुपर्ने बाध्यता अहिले विद्युत् विस्तारसँगै सहज भएको छ। उच्च पहाडी क्षेत्रमा पशुपालन गरी दूध, घ्यू, छुर्पी, चीज उत्पादनसँगै बिक्रीबाट किसानले आम्दानी गर्दै आएका छन्।

प्रकाशित: Aug 29, 2023| 09:44 मंगलबार, भदौ १२, २०८०
प्रतिक्रिया दिनुहोस्