काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अवैध सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका कृष्णबहादुर महरा र उनका छोरा राहुलको संलग्नता नरहेको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएपछि कार्यालयले उनीहरुमाथि छानबिन गरी पूरक प्रतिवेदन तयार गर्न भनेको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले जोगाएका भनिएका महरा बाबुछोरामाथि अब भने अनुसन्धान हुने देखिएको छ।
सरकारी वकिलको कार्यालयले महरा बाबुछोरामाथि अनुसन्धान गर्न निर्देशन दिएसँगै उनीहरु पक्राउसमेत पर्ने सम्भावना बढेको छ। पूर्वसभामुखसमेत रहेका महरा र उनका छोरा राहुलमाथि सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न प्रहरीलाई सरकारी वकिलको कार्यालयले भनेको हो।
महरा बाबुछोराले विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग पटक–पटक सम्पर्क गरेको देखिएको विवरणहरु सार्वजनिक भएका छन्। १० पुस २०७९ मा दुबईबाट ‘भेप’मा सुन लुकाएर ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग महरा बाबुछोराको फोन सम्पर्क देखिएको हो। महराले काठमाडौं विमानस्थल भन्सारमा अड्किएको चिनियाँ नागरिक वाङको तस्करीको सुन छुटाउन सघाएको बताइन्छ।
महरा बाबुछोराको संलग्नता उल्लेख नगरी प्रहरीले फाइल बुझाएपछि यस विषयमा थप अनुसन्धान गरेर पूरक प्रतिवेदन पेस गर्न निर्देशन दिइएको सरकारी वकिलको कार्यालयले प्रस्ट्याएको हो। चिनियाँ नागरिक ली हानसोङले १० पुस २०७९ मा फ्लाई दुबईको उडानबाट काठमाडौं आउँदा भेपको ७३ बट्टाका ७० थानमा करिब ९ किलो सुन लुकाएर ल्याएको सीआईबी छानबिनले देखाएको छ।
डेढ महिनाभन्दा बढी समय भन्सारमा थन्किएको भेपको रूपमा रहेको ९ किलो सुन छुटाउन त्यहाँका कर्मचारी, गिरोहका सदस्य र बिचौलियाले चलखेल गरेका थिए। विमानस्थल भन्सारबाट तस्करीको सुन छुटाउन गाह्रो भएपछि बजारबाट नयाँ सामान किनेर सुन राखिएका भेप बदल्न महरा बाबुछोराले सघाएको दाबी छ। त्यतिबेलै महराका बाबुछोरा र सुन तस्करीमा संलग्न चिनियाँ नागरिकबीच पटक–पटक फोन संवाद भएको अनुसन्धानले पुष्टि गरेको छ।
महराले चिनियाँ नागरिक लुई हानसोङसँग ११ पटक सम्पर्क गरेको सीआईबी छानबिनले देखाएको छ। सुन तस्करसँग महराका छोरा राहुलको २८ पटक फोन सम्पर्क भएको दाबी गरिएको छ। यस्तै, अर्का सुन तस्कर दाओजिन वाङले ६४ पटक र राहुलले दाओजिनलाई १३१ पटक फोन सम्पर्क गरे पनि सत्तारुढ हुनुको लाभ लिँदै जोगाइएका छन्।