देशका विभिन्न भागमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने फरक फरक स्थानमा चार जना मृत फेला परेका छन्।
प्रहरीका अनुसार तेह्रथुम, म्याङलुङ नगरपालिका-९ स्थित सडकमा म्याङलुङ बजारबाट जरिखिम्तीतर्फ जाँदै गरेको को.१४ प ८९२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-८ बस्ने २२ वर्षीय संगम तामाङ र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय सबिन लिम्बुको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
पर्सा, बिन्दबासिनी गाउँपालिका-५ प्रसौनि चोकमा भारतबाट भेलाहीतर्फ आइरहेको बिआर ०५ एएस ०४६८ नम्बरको मोटरसाइकलबाट लडेर भारत पूर्वी चम्पारण बस्ने ६५ वर्षीया सुदामा देवीको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धनुषा, सबैला नगरपालिका-१२ रघुनाथपुरस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७२ वर्षीय रौदीया ठाकुर बरहीको आइतबार बेलुकी मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। प्रहरी चौकी बरमझिया र ईलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले शंकास्पद ३ वटा मोटरसाइकलका चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१ बिशालनगर चोकस्थित सडकमा लु.८२ प ६४६८ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-१८ बस्ने ३६ वर्षीय प्रदिप थारूको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो।
पाल्पा, तानसेन नगरपालिका-१४ अर्गेली पुरानो गाउँस्थित सडकमा जोर्तेबाट अर्गेलीतर्फ जाँदै गरेको लु.४२ प ६७०९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सल्यान कालिमाटी गाउँपालिका-२ बस्ने ३० वर्षीय नरेश घर्ती मगरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई सोही अस्पताल हुँदै थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ। पाँच वटै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
मृत फेला
सर्लाही, गोडैता नगरपालिका-३ भगवतीपुर बजारस्थित बरको रूखमुनि बिष्णु गाउँपालिका-५ सिमरा बस्ने ४५ वर्षीय फेकन पण्डित आइतबार मृत अवस्थामा फेला परेका छन्।
दार्चुला, मालिकार्जुन गाउँपालिका-७ टोपाली बस्ने ८५ वर्षीया भागरथी चन्द सोही ठाउँस्थित खरबारीमा आइतबार मृत अवस्थामा फेला परेकी छिन्। बिगत ५ दिनदेखि घरबाट हराई बेपत्ता भएकी उनको प्रहरी चौकी जोलजिबीबाट खटिएको प्रहरीले आफन्तहरूको सहयोगमा खोजी गर्ने क्रममा शव फेला परेको हो।
झापा, बिर्तामोड नगरपालिका-५ दुर्गा मन्दिर नजिकै नालामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन्।
मुस्ताङ, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ लम्बुकस्थित कुन्साङ गुरूङको स्याउबारीमा विगत ८ वर्षदेखि काम गरी बस्ने म्याग्दी मालिका गाउँपालिका-६ दरवाङ घर भएका ३९ वर्षीय मामा भन्ने जगमान जुगजाली आफू बस्दै आएको स्थानमा आइतबार मृत अवस्थामा फेला परेका छन्। दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
डुबेर मृत्यु
रूपन्देही, तिलोत्तमा नगरपालिका-४ बस्ने ५५ वर्षीय बिष्णु शर्माको सोही नगरपालिका-६ दश नम्बरस्थित सताहा खोलामा डुबेर आइतबार राति मृत्यु भएको छ।
कपिलवस्तु, शिवराज नगरपालिका-३ मदवा बस्ने ७० वर्षीय सालिके कामीको घरदेखि करिब ६ सय मिटर वनशक्ति टोलस्थित काँडे खोलामा डुबेर आइतबार राति मृत्यु भएको छ। माछा मार्न गएको अवस्थामा अचानक डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल तौलीहवामा उपचारको क्रममा मृत्यु भएको हो। सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
करेन्ट लागेर मृत्यु
सर्लाही, हरिवन नगरपालिका-२ अत्रौलस्थित निर्माणाधिन लालभित्ती नयाँ पक्की पुलका कामदार बर्दिया वाँसगढी नगरपालिका बस्ने २८ वर्षीय अशोक चौधरीको करन्ट लागेर आइतबार राति मृत्यु भएको छ। सोही ठाउँस्थित आफ्नै कोठामा जाने क्रममा बिजुलीको पोलको तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनकोसरस्वती अस्पताल हरिवनमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
पहिरोमा परेर एक जनाको मृत्यु
जाजरकोट, नलगाड नगरपालिका-१२ तल्लु बस्नेत गाउँ बस्ने ४५ वर्षीया कल्पना कुमारी बस्नेतको पहिरोमा पुरिएर आइतबार बिहान मृत्यु भएको छ। सोही ठाउँ बाफिनेली भन्ने जंगलमा घाँस काट्ने क्रममा माथिबाट पहिरो जाँदा पुरिएर घाइते भएकी उनको उपचारको लागि तल्लुबगरस्थित मेडिकल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।