काठमाडौं- कैलालीको धनगढीस्थित स्वस्तिक कार्डियो एन्ड मल्टिस्पेसियालिटी अस्पतालमा शुक्रबार भर्ना गरिएका कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको पत्थरीको अप्रेसन गर्दा नसा काटिएपछि अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको छ।
पत्थरीको अप्रेसनका क्रममा मिर्गौलाको नसा काटिएपछि अत्यधिक रक्तश्राव हुँदा डाक्टरले पुनः अप्रेसन गरेर बायाँ मिर्गौला झिकिदिएको आफन्तको दाबी छ। आइतबार दिउँसो ३ बजे काका (चौधरी) को बायाँ मिर्गौलामा दुई वटा र दायाँ मिर्गौलामा एउटा पत्थरी छ भन्दै बायाँ मिर्गौलामा रहेको पत्थरी झिक्न अप्रेसन गरिएपछि मृत्यु भएको भतिजा राजकुमारले बताए।
तर, अप्रेसन गरेको करिब एक घन्टापछि अस्पतालको शय्यामा भेट्न जाँदा काकाले पेट दुख्यो भनेपछि डाक्टरलाई बोलाइएको उनले सुनाए। त्यसपछि डाक्टरले सुई लगाइदिनासाथ पेट फुल्न थालेको उनले बताए।
राती ८ बजेतिर काकालाई झनै गाह्रो भएपछि डाक्टरलाई जानकारी गराउँदा किड्नीको नसा काटिएकाले रगत बगेको बताएका थिए। सोही कारण काकाको किड्नी झिक्न डाक्टरले सल्लाह दिएपछि परिवार सहमत भएको भतिजा चौधरीले सुनाए ।
तर, किड्नीको अप्रेसन गरेपछि पनि काकाको स्वास्थ्य अवस्था झनै जटिल भएपछि आईसियुमा राखेर उपचार गरे पनि बचाउन नसकिएको उनले जनाए। काकाको मृत्युपछि अस्पतालका अध्यक्ष महेश जोशीले परिवारलाई चाहिने जति रकम दिने तर बाहिर हल्ला नगर्न भनेको भतिजा राजकुमारले दाबी गरे।