सर्वोच्च अदालत ‘अटोमेसन’ प्रणालीमा जाँदै
सर्वोच्चले नागरिकलाई छिटो र सहज रुपमा न्याय दिने उद्देश्यले मुद्दाको पेशी तारिखका लागि स्वचालित प्रणाली लागू गर्न लागेको हो। काठमाडौं– सर्वोच्च अदालतले नागरिकलाई छिटो र सहज रुपमा न्याय दिने उद्देश्यले मुद्दाको पेशी तारिखका लागि स्वचालित (अटोमेसन) प्रणाली लागू गर्दै छ। सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आजदेखि मुद्दाको पेशी तारिखका लागि स्वचालित प्रणाली लागू गर्न लागिएको बताएका हुन्।
‘पहिला सर्वोच्चमा परीक्षणका रुपमा मुद्दाको पेशी तारिख अटोमेसन प्रणालीबाट सुरु गरिन्छ। परीक्षण सफल भए काठमाडौं जिल्ला अदालत र धेरै मुद्दा भएका अदालतमा प्रयोगमा ल्याइनेछ’, प्रधानन्यायाधीश श्रेष्ठले भने। यो प्रविधि सर्वोच्चको सूचना प्रविधि शाखाले बनाएको उनको भनाइ छ। प्रधानन्यायाधीश श्रेष्ठले यसको प्रयोग सफल भए न्यायसम्पादनमा सबैलाई फाइदा पुग्ने दाबी गरे।
न्यायाधीश नियुक्ति प्रक्रिया जतिसक्दो छिटो गर्न आफू लागिरहेको र सक्षम न्यायाधीश नियुक्ति गरेर न्यायलयप्रति जनआस्था बढाउन काम गर्ने प्रतिबद्धता व्यक्त गरे।‘न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढिसकेको छ। न्यायाधीशको संख्या कम हुँदा न्याय सम्पादनमा कठिनाइ भइरहेको छ’, प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘सक्षम न्यायाधीश नियुक्ति हुनेमा विश्वास दिलाउँछु।’
नेपालको ३१औं प्रधानन्यायाधीशका रुपमा श्रेष्ठ ४ भदौमा नियुक्त भएर ५ भदौमा पद तथा गोपनीयताको सपथ लिएका थिए। आइतबार मात्रै न्यायालय र कानुन क्षेत्रमा कलम चलाउने पत्रकारको संस्था न्यायिक मञ्चको टोली प्रधानन्यायाधीशलाई बधाइ दिन गएका बेला उनले आजदेखि मुद्दा पेशीलाई अटोमेसन प्रणालीमा लगिने सूचना दिएका थिए।