मंगलबार, जेठ २६, २०८३

स्वेदेशी फूलले बजारको माग धान्नै मुस्किल

 |  आइतबार, भदौ १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १०, २०८०

काठमाडौं- लगानी अभावका कारण बजारको मागअनुसार फूल उत्पादन हुन सकेको छैन। स्वदेशी उत्पादनले बजारको माग धान्न नसकेपछि आयात गर्नुपरेको फ्लोरिकल्चर एशोसिएशनले जनाएको छ। हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म माग वृद्धि हुन्छ तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको एशोसिएशनले जनाएको छ।

National life

बजारको मागअनुसार फूल उत्पादन गर्न नसक्नुको मुख्य कारण साना साना व्यापारीले सहज रुपमा ऋण प्राप्त गर्न नसक्नु रहेको फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताए।

“कोरोना महामारीपछि बैंकहरूले सहज ऋण दिँदैनन्, लगानी गर्ने रकम नपाएपछि उत्पादन बढाउन सकिएन, त्यसकारण बजारको माग धान्न सकिएन,” उनले भने। अध्यक्ष तामाङका अनुसार पुष्प नीतिहरू कार्यन्वयन हुन नसक्दा पनि लगानी विस्तार गर्न र उत्पादन बढाउन समस्या भएको हो।

अघिल्ला आर्थिक वर्षमा कोरोना महामारीका कारण फूलको कारोबार कम भए पनि गत आवमा भने रु तीन अर्ब सात करोडको कारोबार भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा रु ७७ करोडले बढी हो। कोरोना महामारीको त्रास कायमै रहेकाले आव २०७८/८९ मा रु  दुई अर्ब ३० करोडको वार्षिक फूलको कारोबार भएको थियो।

विशेषगरी तिहारमा प्रयोग हुने मखमली र गोलाबरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि तिहारमा प्रयोग हुने सयपत्री र रातो गुलाफ भने छिमेकी मुलुक भारतबाट ल्याउनुपर्ने बाध्यता टरेको छैन। कोरोना महामारी अघि गुलाफ आन्तरिक उत्पादन राम्रो रहेपनि पछिल्लो समय यसको उत्पादन घढ्दै गएको कारण पनि हरेक वर्ष आयात गर्ने गुलाफको मूल्य बढ्दै गएको छ।

Shivam cement

नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ। फूलको मागमा आएको वृद्धिसँगै काठमाडौँ उपत्यकाको तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४८ जिल्लामा नर्सरी विस्तार भएका छन्।

व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ। यस व्यवसायबाट ४४ हजार भन्दा बढी व्यक्तिले प्रत्यक्ष अप्रत्यक्ष रूपमा लाभ लिएका छन्। नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा एक हजार एक सय १६ व्यवसायीले पुष्प खेती गरेका छन्।

प्रकाशित: Aug 27, 2023| 21:30 आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्