काठमाडौं- अमेरिकी अनुदान सहायतासम्बन्धी परियोजना एमसीसी कार्यान्वयन चरणमा प्रवेश गर्नुअघि एमसीसीका उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल आउने भएका छन्। काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार नेपालसँगको एमसीसी सम्झौताको सुरुआतको अवसर पारेर एमसीसीका सम्झौता कार्य–सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपालको भ्रमणमा आउन लागेको हुन्।
एमसीसी नेपालमा यही भदौ १३ बाट उर्जा र सडक पूर्वाधार विकासमा ५०० मिलियन अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी सम्झौता कार्यान्वयनमा जाँदैछ। सम्झौताअनुसार ५ वर्षमा परियोजना सक्ने गरी कार्यान्वयनमा जाने मिति भदौ १३ रहेको छ। यो अनुसार अब २०८५ साल भदौ १३ भित्रमा उक्त परियोजना सक्नु पर्ने हुन्छ।
दूतावासले एमसीसी सम्झौताको सफल कार्यान्वयन सुनिश्चित गर्न एमसीए–नेपालसँग साझेदारी गर्न प्रतिबद्ध रहेको जनाएको छ। साथै, सम्झौताका लक्ष्यहरू समयमै हासिल गर्न संलग्न सबैले लगनशीलताका साथ काम गरिरहेको दूतावासको भनाइ छ।
सन् २०१७ मा सम्झौता भएको एमसीसी परियोजना २०२२ मा संसदीय अनुमोदन गरिएको थियो। संसदीय अनुमोदनपछि बाँकी रहेका पूर्वतयारीका कामहरु सम्पन्न भइसकेको एमसीए-नेपालले जनाएको छ।