शनिबार, असार २८, २०८२

नागढुंगा-मुग्लिन सडकमा घामपानी नभनी काम

 |  आइतबार, भदौ १०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १०, २०८०

vianetvianet

धादिङ- संघीय राजधानी जोड्ने लाइफलाइनको रुपमा रहेको पृथ्वीराजमार्ग र त्रिभुवन राजपथको नागढुंगादेखि मुग्लिनसम्मको सडक वर्षामा पनि धमाधम स्तरोन्नति भइरहेको छ। सडक निर्माण भएको करिब ३० वर्षपछि पहिलो पटक स्तरोन्नति हुन लागेको हो। नागढुंगादेखि मुग्लिनसम्म ९५ किलोमिटर सडकअन्तर्गत तीन चरणमा स्तरोन्नति भइरहेको छ।

यसअघिका प्रत्येक वर्षमा सामान्य मर्मत भइरहे पनि जगैदेखि विस्तारको काम भने पहिलो पटक भइरहेको नागढुंगा-मुग्लिन सडक आयोजनाका आयोजना पूर्वी खण्डका योजना प्रमुख ईश्वर रिजालले बताए। उनका अनुसार पहिलो चरणअन्तर्गत हालसम्म ३५ प्रतिशत, दोस्रोमा १० प्रतिशत र तेस्रोमा करिब तीन प्रतिशत काम भएको छ।

एकतर्फी गाडी सञ्चालन गराउँदै टेवा पर्खाल, नाली निर्माण, मोड सुधार, बेस्ट वाल निर्माणलगायत काम भइरहेको रिजालले जानकारी दिए। नेपाल सरकार र विश्व बैंकको ऋण सहयोगमा १२ अर्ब रूपैयाँको लगानीमा पृथ्वीराजमार्गको नागढुंगा-मुग्लिन सडकखण्ड स्तरोन्नतिको काम थालिएको उनले बताए। 'नौविसे नागढुंगामा निर्माणको काम लगभग अन्तिममा पुगिसकेको छ। पिचको काम बाँकी छ', उनले भने।

सडक विभागको तथ्यांकअनुसार पृथ्वीराजमार्ग र त्रिभुवन राजपथ हुँदै दैनिक साना ठूला गरी करिब १५ हजार सवारी काठमाडौं ओहोरदोहोर हुँदै आएका छन्।

उकालो र घुम्तीले गर्दा सवारी जाम हुने स्थानमा दुई लेनको अतिरिक्त एक लेन थप्ने गरी काम भइरहेको योजना प्रमुख रिजालले बताए। साना गाडीको पनि चाप हुने भएकाले बजार क्षेत्रमा चारदेखि छ लेनसम्म सडक चौडा गरिने योजना रहेको उनले जानकारी दिए।

आयोजनाका आयोजना पश्चिम खण्डका योजना प्रमुख किरण कार्कीका अनुसार भौगोलिक हिसाबले सहज भएका स्थानमा दुई लेनलाई नै व्यवस्थित गर्ने गरी काम भइरहेको छ। समग्रमा कम्तीमा नौ मिटरदेखि बढीमा ३० मिटरको चौडाइमा स्तरोन्नति हुने उनले जानकारी दिए। 'नौविसे र खत्रीपौवामा पुल बन्दैछ। नौविसेदेखि मलेखुसम्ममा १६ पुल बन्नेछ', उनले भने।

सडकमाथि मेसिन चढाएर पहरा काट्नुपर्ने स्थानमा काम गर्दा माथिबाट ढुंगामाटो खसेर सवारीमा लाग्न सक्ने जोखिम भएकाले त्यस्ता स्थानमा सवारी आवागमन केहीबेर रोकेर काम गर्ने गरिएको कार्कीले बताए। बर्खाको समयमा धमाधम काम भइरहे पनि राजमार्गमा सवारी रोकेर काम गर्दा यात्रुले सास्ती बेहोर्नु परिरहेको छ।
 

प्रकाशित: Aug 27, 2023| 22:23 आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्