मंगलबार, जेठ २६, २०८३

'एक अर्ब जनसंख्याका लागि पानीको स्रोत हो नेपाल'

 |  आइतबार, भदौ १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १०, २०८०

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायको लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताएका छन्।

National life

विश्व वातावरण कोषको ७ औं एसेम्बली बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले दक्षिण एसियाका एक अर्ब भन्दा बढी जनसंख्याको लागि पानीको श्रोत नेपाल रहेको विषय विश्व समुदायमा ध्यानाकर्षण गराएका हुन्।

उनले नेपालले जैविक विविधता तथा वातावरण संरक्षणमा ईमान्दार प्रयास गरिरहेको बताउँदै दुर्लभ तथा संकटापन्न जंगली जनावर तथा प्रजातीहरुको संरक्षण गरेको र सोको नतिजा स्वरुप बाघ तथा गैंडाको संख्यामा उल्लेख्य रूपमा बृद्धि भएको बताए। साथै उनले यस्ता वन तथा वन्यजन्य सम्पदा नेपालको लागि मात्र नभै विश्व मानव समुदायकै साझा सम्पदाको रुपमा रहेको उल्लेख गरे। यी प्रयासका बाबजुत नेपाल जलवायू परिवर्तनका दृष्टिकोणले नेपाल विश्वको १० औं उच्च जोखिमयुक्त मुलुकमा परेको र पछिल्ला दिनहरुमा बाढी पहिरो अतिबृष्ठि सुख्खा साथै हिमताल बिस्फोटको जोखिम समेत बढेको उनले बताए।

नेपालको तापक्रम सन् २०३० सम्ममा 0.५ देखि २.0 डिग्रि सेल्सियसले बढ्ने अनुमान रहेको र यसबाट हुने असर र प्रभावसँग सामना गर्न सन् २०५० सम्ममा करिब ५० अर्व अमेरिकी डलर भन्दा बढी लगानी आवश्यक रहेको तर्फ सहभागीहरुको ध्यानाकर्षण गराए। अर्थमन्त्री डा. महतले जलवायू वित्तबाट सञ्चालित कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै यसै एसेम्वलीबाट अनुमोदित विश्व जैविक विविधता खाका कोष लगायतका उपलब्ध सबै श्रोत अति प्रभावित मुलुकहरुमा केन्द्रित गर्न अनुरोध गरे। उनले जबसम्म एकीकृत र समुच्च रुपमा कार्यक्रम कार्यान्वयन गरिदैंन तबसम्म कोषको आकार मात्र बढाएर खासै प्रभावकारी नहुने धारणा राखेका थिए।

जलवायू परिवर्तन जोखिम उच्च भएका देशहरुको समेत प्रतिनिधित्व गर्दै मन्त्री महतले लगानी आयोजनाहरुको गुणस्तर बढाउन स्थानीय जनताको जीवनस्तरमामा सकारात्मक परिवर्तन ल्याउनेगरी कार्यान्वयन गर्नु पर्नेमा जोड दिए उनले मानव विकासको क्षेत्रमा महत्वपूर्ण लगानी नगर्दासम्म वातावरणीय दिगोपना हासिल हुन समेत नसक्ने बताए। सो अवसरमा मन्त्री डा. महतले वातावरणीय कोषका कार्यक्रमहरू राष्ट्रिय प्रणाली मार्फत कार्यान्वयन गर्नु पर्नेमा जोड दिँदै आयोजनामा ठोस तथा पहिचानयुक्त कृयाकलाप समावेश गर्न र आयोजनाका मुख्य क्रियाकलापमा लगानी केन्द्रित गर्न जोड दिए। यसैगरी उनले जलवायू परिवर्तनको बहुआयामिक असरलाई सम्बाेधन गर्न उच्चस्तरको सहकार्य र सबैको योगदान आवश्यक रहेको धारणा राखे।  

Shivam cement

 

प्रकाशित: Aug 27, 2023| 12:30 आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्