कारागार विभागले भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहमा हुलहुज्जत गर्ने ५७ जनालाई उपत्यका बाहिर स्थानान्तरण गरेको छ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरको सिफारिसमा विभागले सुधार गृह पर्सामा १८ जना, मकवानपुरमा १८, डोटीमा ७ र रुपन्देहीमा १४ जनालाई स्थानान्तरण गरेको हो। उनीहरु अधिकांश १८ वर्षमाथिका छन्। गत आइतबार २० वर्षीय एक युवकको उपचारका क्रममा मृत्यु भएपछि सुधार गृहमा रहेकाले विद्रोह गर्ने क्रममा २ सय २१ जना भागेका थिए। तीमध्ये अझै ७ जना फरार छन्।
सुधार गृहमा रहेका २ सय ९७ मध्ये ४३ जना बालिका र किशोरी छन्। सुधार गृहमा रहेका बालक र किशोरहरू दुई समूहमा विभाजन भई आपसमा झगडा गर्ने, विवाद मिलाउन गएका प्रहरीमाथि नै जाइलाग्न थालेपछि स्थानान्तरण गरिएको कारागार विभागले जनाएको छ।
उनीहरूमध्ये अधिकांशलाई जबर्जस्ती करणी, कर्तव्य ज्यान, लागूऔषध, डाँका, ज्यान मार्ने उद्योग, अभ्रद व्यवहार, चोरी लगायतको मुद्दामा अदालतको आदेशले सुधार गृहमा राखिएको हो। भक्तपुरमा २ सय ९६ मध्ये १ सय ५४ जना जर्बजस्ती करणीमा परेका थिए। त्यस्तै ५८ जना कर्तव्य ज्यानमा संलग्न थिए। अदालतले १८ वर्षभन्दा कम उमेरका अपराधमा संलग्नहरूलाई सुधार गृह पठाउने गर्छ।
अपराधमा मुछिएका १८ वर्षमुनिका बालबालिका राख्न मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, बाँके र डोटीमा बालसुधार गृह सञ्चालनमा रहेका छन्।