काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने फरक फरक स्थानमा ८ जना मृत फेला परेका छन्।
प्रहरीका अनुसार चितवन, भरतपुर महानगरपालिका-२९ पन्ध्र किलोस्थित सडकमा मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको ग.१६ प ६९६८ नम्बरको मोटरसाइकल र बा-प्र-०१-००४ क ०५७३ नम्बरको ट्याङकर एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक पर्वत घर भएका ५८ वर्षीय हर्क बहादुर सुनारको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी चितवन, भरतपुर महानगरपालिका-१० नहर चोकस्थित सडकमा ना.४४ प ५०५२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-११ पारिजात टोल बस्ने ९१ वर्षीय बेद प्रसाद सापकोटाको शुक्रबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रूपन्देही, शुद्धोधन गाउँपालिका-६ बेलहियास्थित सडकमा मानपकडीबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु.१९ प ९४६१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने २५ वर्षीय श्याम सुन्दर लोधको शुक्रबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र अन्य १ जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ।
मृत फेला
काठमाडौं, गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजल नयाँपाटी डेरा गरी बस्ने ओखलढुङगा मोलुङ गाउँपालिका-७ घर भएका ४८ वर्षीय गेल्बु शेर्पा आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
बाँके, नेपालगंज उपमहानगरपालिका-६ पिपल चौतारा डेरा गरी बस्ने वीरेन्द्रनगर नगरपालिका-११ बस्ने ६० वर्षीया विष्णु कुमारी विक आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन्।
दाङ, तुलसीपुर उपमहानगरपालिका-४ डाँडा टोल बस्ने ५४ वर्षीया पुनिकला थापा मगर सोही ठाउँस्थित ढुङ्गा खसे भन्ने स्थानमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन्। गत भदौ ३ गते घरबाट माइतीघर सल्यान कपुरकोट गाउँपालिका-२ सिमलकुना जान्छु भनी हिँडेकी उनी सम्पर्क बिहीन भएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो।
काभ्रे, पनौती नगरपालिका-५ लप्सिबोट बस्ने ३८ वर्षीय रूपक कार्की सोही ठाउँस्थित खेतमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्। गत भदौ ७ गते घरबाट बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो।
बागलुङ, काठेखोला गाउँपालिका-८ लेखानी बस्ने ५७ वर्षीया पार्वती दमै सोही ठाउँस्थित खाली घरको पिँढीमा शनिबार मृत अवस्थामा फेला परेकी छिन्।
रूपन्देही, सैनामैना नगरपालिका-१० भच्कई बस्ने ४१ वर्षीय धन बहादुर पुन साहनी मगर आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन्।
सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-६ रागेचुरी बस्ने २८ वर्षीय राज कुमार गोले सोही ठाउँस्थित क्यान खोला र खड्कुले खोलाको दोभानमा शनिबार मृत अवस्थामा फेला परेका छन्।
रौतहट, गढिमाई नगरपालिका-१ स्थित बागमती खोलाको बगरमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ५५ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन्।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
खोलाले बगाई मृत्यु
भानु नगरपालिका-११ मानेचौकास्थित पाउदी खोलाले बगाई लम्जुङ सुन्दरबजार नगरपालिका-६ अरेलुचौर बस्ने रामसरण परियारको छोरा १० वर्षीय समर्पण परियारको शुक्रबार दिउँसो मृत्यु भएको छ। पौडी खेल्ने क्रममा खोलाले बगाउँदा समर्पणको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रूपाकोट र ईलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
करेन्ट लागेर मृत्यु
बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटहा बस्ने ५४ वर्षीय शंकर सापकोटाको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ। टेबुल पंखा चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपगलगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो।
पर्सा, पकाहा मैनपुर गाउँपालिका-१ धोरे बस्ने ईसा मियाकी छोरी ६ वर्षीया सहिदा खातुनको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ। आफ्नै घर नजिक खेल्दै गरेको अवस्थामा विद्युको पोलमा छुन गई करेन्ट लाग्दा उनको मृत्यु भएको हो।