आइतबार, असार २९, २०८२

बागलुङमा पहिरोले दुई घर भत्किए, दुई दर्जन बढी घर जोखिममा

बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिम उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन्
 |  शनिबार, भदौ ९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ९, २०८०

vianetvianet

बागलुङ– ठूलो वर्षाका कारण बागलुङमा दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका छन्। बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिम उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन्। वर्षाको कारण पहिरोले घर भत्किँदा मैदानका दुई परिवार पूर्णरुपमा विस्थापित भएका छन्। 

वर्षाले घर भत्किँदा स्थानीय जमुना आचार्य र नारायणप्रसाद सापकोटाको परिवार विस्थापित भएको बागलुङ नगरपालिका–६ का वडाध्यक्ष रुद्रबहादुर केसीले बताए।
घर भत्किएपछि जमुना आचार्यको परिवार छिमेकी बालकृष्ण आचार्य र नारायण सापकोटाको परिवार छिमेकी मुक्ति आचार्यको घरमा आश्रय लिएर बसेको उनको भनाइ छ। 

घर भत्किँदा नारायणको १० लाख बराबरको क्षति भएको छ भने जमुनाको ६ लाख बराबरको क्षति भएको छ। नारायणको अन्यत्र घर बनाउने जग्गासमेत नभएकाले थप समस्यामा रहेको वडाध्यक्ष केसीले बताए। विस्थापित परिवारको बारेमा जिल्ला दैविक प्रकोप कार्यालयमा सिफारिस गरिएको वडाध्यक्ष केसीले जानकारी दिए। 

‘पहिरोले दुई परिवारले घर छोडेर आफन्तकहाँ आश्रय लिएका छन्, अन्य घर पनि भत्किन थालेका छन्, उनीहरुलाई सुरक्षित स्थानमा सार्न  पहल गरेका छौँ’, अध्यक्ष केसीले भने, ‘बर्खा अझै बाँकी छ। वर्षा भइरहेको हुँदा व्यवस्थापनमा पनि समस्या भइरहेको छ, दुई दर्जन बढी घर अहिले जोखिममा छन्। यसरी नै वर्षा भइरह्यो भने अझै अरु घर पनि जोखिममा पर्ने सम्भावना बढेको छ।’

विस्थापित परिवारले बागलुङ नगरपालिकाबाट एक थान त्रिपालबाहेक कहीँकतैबाट सहयोग पाउन सकेका छैनन्। वर्षाको कारण बस्तीमाथिको जमिन बग्न थालेपछि रातिको समयमा जागराम बस्न बाध्य भएको स्थानीय सापकोटाले बताए। घर कति बेला भत्किएर पुरिने भन्ने चिन्ताले पिरोली रहेको सापकोटाले दुःखेसो पोखे।

बागलुङ नगरपालिका–४ कुँडुले, वडा नम्बर ५ मालिका हुँदै पञ्कोटबाट वडा नम्बर ७ तितौरे जाने शाखा सडकखण्डअन्तर्गत मैदानमा सडकमा माथिबाट खसेको पहिरोले अन्य तीन घर परिवार पनि विस्थापित भएका उनको भनाइ छ। पहिरो वरपरका अन्य धेरै घर पनि जोखिममा पर्न थालेपछि स्थानीय त्रसित बनेको सापकोटाले बताए।–रासस

प्रकाशित: Aug 26, 2023| 14:40 शनिबार, भदौ ९, २०८०
प्रतिक्रिया दिनुहोस्