मंगलबार, जेठ २६, २०८३

सामाजिक सद्भाव कायम गर्न धरानका मेयर राईको अपिल

 |  शनिबार, भदौ ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ९, २०८०

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले आपसी सद्भाव, भाइचारा र एकता कायमका लागि धरान नगरवासीमा अपिल गरेका छन्। राईले अपिल प्रकाशित गर्दै समाजमा देखिने अशान्ति विभेद्ले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिने उल्लेख गरेका छन्।

National life

उनले अपिलमा कुनै पनि प्रकारको सामाजिक अन्तरसम्बन्ध खलबलिने गतिविधि नगर्न अनुरोध पनि गरेका छन्।

यसैबीच सुनसरीको धरान उपमहानगरपालिकामा धार्मिक/साम्प्रदायिकका साथै जनस्वास्थ्य सङ्कट तथा शान्ति सुरक्षाको संवदेनशीलताका कारण जिल्ला प्रशासन कार्यालय सुनसरीले २४ घण्टे निषेधाज्ञा जारी गरेको छ।

आज राति १२ बजेदेखि लागू हुने गरी २४ घण्टे निषेधाज्ञा जारी गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन्। उनका अनुसार निषेधाज्ञा आदेश शनिबार राति १२ बजेसम्मका लागि जारी गरिएको छ। 

उनले धरान उपमहानगरपालिकाका २० वटा वडामा मात्रै १५ हजार व्यक्तिमा डेङ्गी सङ्क्रमण फैलिएकाले उपमहानगरपालिकालाई ‘जनस्वास्थ्य आपत्कालीन अवस्था’ क्षेत्र घोषणा गरिएकाले जारी गरिएको निषेधाज्ञा उल्लङ्घन नगर्न अनुरोध गरेकी छन्।

Shivam cement

धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराह क्षेत्र नगरपालिका–१ मा पर्ने झण्डा चोकदेखि धरानतर्फको क्षेत्र, धरान प्रवेश गर्ने पश्चिम–दक्षिण रामधुनी नगरपालिका–६ बाट बराह क्षेत्र नगरपालिका–३ नडाहा चोकबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो।

त्यसैगरी इटहरी उपमहानगरपालिका–२० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्रमा पनि प्रशासनले निषेधाज्ञा जारी गरेको छ। त्यसैगरी धरान उपमहानगरपालिका–५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी–६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम शुक्रबार राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिकरूपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा, र्‍याली/भेला गर्न रोक लगाइएको छ। प्रशासनले प्रदर्शनलगायत कुनै पनि कार्यक्रम नगर्न/नगराउन धरान उपमहानगरपालिका क्षेत्रभित्रका सबै सरोकारवालालाई आग्रह गरेको छ।

आदेश विपरीत भए गरेको पाइए वा अटेर गरेको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गरिने आदेशमा उल्लेख छ।
 

प्रकाशित: Aug 26, 2023| 07:12 शनिबार, भदौ ९, २०८०
प्रतिक्रिया दिनुहोस्