सोमबार, असार ३०, २०८२

तनहुँमा अंगुरखेती : पहिलो वर्ष १८ लाख रूपैयाँको उत्पादन

 |  बिहीबार, भदौ ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ७, २०८०

vianetvianet

तनहुँ- तनहुँको घिरिङ गाउँपालिका-४ स्थित बाह्रबिसेमा १८ लाख रूपैयाँ मूल्यबराबरको अंगुर उत्पादन भएको छ। खेती सुरु गरेको पहिलो वर्षमै उद्यमी कुमार कार्कीले सो मूल्यबराबरको अंगुर उत्पादन गरेका हुन्। गतवर्ष ७० रोपनी जग्गा खरिद गरेर उनले व्यावसायिक अंगुर खेती थालनी गरेका थिए।

‘भाइन यार्ड एन्ड रिसर्च सेन्टर’ फार्म स्थापना गरी सुरुमा एक करोड ५० लाख रूपैयाँ लगानी गरेको सञ्चालक कार्कीले जानकारी दिए। 'नौ हजार किलोग्राम अंगुर उत्पादन भएको छ,' उनले भने, 'बजारको ‘मूल्य अनुरुप प्रतिकिलो दुई सय रूपैयाँका दरले उक्त मूल्यको अंगुर उत्पादन भएको हो।' उक्त क्षेत्रमा करिब नौ हजार पाँच सय बिरुवा रोपिएको उनले बताए।

कम्पनीले वार्षिक १० हजार किलो अंगुर उत्पादन गर्ने लक्ष्य राखेकोमा लक्ष्यको नजिक नजिक पुग्न सफल भएको उनले बताए। जिल्लामा उत्पादन भएका सबै अंगुरबाट वाइन उत्पादन गर्नका लागि धादिङमा पठाइएको छ', उनले भने, 'कम्पनीले सात सय ५० एमएलको बोतलमा तीन प्रकारका वाइन उत्पादन गरिरहेको छ।'

धादिङको थाँक्रे गाउँपालिका-१० जुङेखोला केवलपुरमा विगत १५ वर्षदेखि तीन सय रोपनी क्षेत्रफलमा ३० हजार बिरुवा लगाएर व्यावसायिक अंगुरखेती गरी वाइन उत्पादन गर्दै आएको छ। कम्पनीले धादिङमा ३८ करोड ५० लाख रूपैयाँको लागतमा अंगुरखेती र वाइन उत्पादन गर्दै आएको हो। वाइन बजारमा प्रतिबोतल एक हजार दुई सय रूपैयाँमा बिक्री गरिरहेको छ।

‘हामीसँग हाल वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता छ,' उनले भने, 'यसले पनि अंगुरखेतीलाई प्रोत्साहन गरेको छ।' वर्षामा एक पटक अंगुर फल्ने भएकाले अन्य समयमा फार्ममा रेखदेख, गोडमेल, काँटछाँट र बिरुवा मरेका ठाउँमा नयाँ बिरुवा लगाउने लगायतका कार्य गर्ने गरिएको छ। फार्ममा विभिन्न ३२ प्रजातिका अंगुरखेती गरिए पनि ८ देखि १० प्रजातिका अंगुरले मात्रै राम्रो उत्पादन दिएको कार्कीले बताए।

फार्ममा हारियोमा सुजी, कायाबिनेट क्यान्टर, मनाज, सोबिनियन ग्रिस तथा खानका लागि फन्नी, सोफिया, आरकडिया, पोलिस्की, दुचबा, चालिचमान लगायतका जातका अंगुर रहेको छ। अंगुरको बोटमा चैत, बैशाखमा फूल फूल्छ भने त्यसपछि तीन महिनामा फल टिप्न तयार हुने फार्ममा कार्यरत प्राविधिक सान्नानी तामाङले बताए।

फागुनदेखि फूल खेल्ने र असार पहिलो सातासम्म फल टिप्न सकिने छ। फार्ममा दैनिक ज्यालादारीमा आवश्यकताअनुरुप स्थानीयवासीले प्रत्यक्ष रोजगारी पाउने गरेका छन्। धादिङमा भएको फार्मका लागि बागमती प्रदेश बिग फार्म शीर्षअन्तर्गत १२  फार्ममापर्न सफल भई ५५ लाख रूपैयाँ अनुदानसमेत प्राप्त गरिसकेको सञ्चालक कार्कीले बताए।

घिरिङको माटोमा अंगुर उत्पादन राम्रो हुने भएपछि किसानलाई पनि खेतीतर्फ प्रोत्साहन गर्न पालिकासँग समन्वय भइरहेको कृषि शाखा अधिकृत रवि रामदामले बताए।

यस क्षेत्रको हावापानी र माटो अंगुरखेतीका लागि उपयुक्त मानिएकाले किसानलाई यसतर्फ आकर्षित गराउन लागिएको सो गाउँपालिकाले जनाएको छ।    -रासस

प्रकाशित: Aug 24, 2023| 21:02 बिहीबार, भदौ ७, २०८०
प्रतिक्रिया दिनुहोस्