काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारका एक बहालवाला महानिर्देशकले नै सुन आएको कुरा अहिले समातिएका दावा लामालाई फोटोसहित पठाएको दाबी गरेका छन्। आज प्रतिनिधिसभाको बैठकमा उनले त्यसको समाचार लुकाउन लामो समयदेखि पत्रकारिता गरिरहेका व्यक्ति नै संलग्न रहेको पनि बताए।
आफूलाई प्रहरीबाट त्यो सूचना आएको जानकारी दिँदै सभापति लामिछानेले भने, 'मसँग भएका सूचना सदनलाई जानकारी गराउन चाहन्छु। सरकारका बहालवाला एक महानिर्देशकले सुन आएको कुराको जानकारी अहिले समातिएका दावा नाम गरेका व्यक्तिलाई फोटोसहित पठाएको प्रहरीबाट जानकारी आएको छ। यसमा संलग्न केही विचौलियाहरुको जानकारी पनि मलाई उपलब्ध गराएका छन्। म सम्बन्धित निकायलाई जनाकारी गराउने छु।'
उनले थपे, 'यसको समाचार लुकाउन लामो समयदेखि पत्रकारिता गरेका मान्छे समेत संलग्न रहेका छन्। पूर्व प्रहरी प्रमुखको पनि कुराकानी दावा लामासँग भएको सूचना प्राप्त भएको छ। यसमा गृहमन्त्री र प्रधानमन्त्रीज्यूको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु।'
उनले सीआईबीलाई विश्वास नगर्ने भन्ने कुरै नभएको बताउँदै निष्पक्ष काम नगर्नका लागि सरकारले दबाब दिने त होइन भन्ने शंका लागेको पनि बताए। 'फरेन्सिक ल्याबबाट दावा लामाको टेलिफोनमा भएको रेकर्ड संसद्ले जस्ताको तस्तै हेर्न पाओस्, जहाँ अत्यन्त धेरै सूचनाहरु छन्। यसको जानकारी हामीलाई पनि प्राप्त भएको छ', उनले भने।