मंगलबार, जेठ २६, २०८३

धवलागिरिमा डेढ महिनादेखि चार सय घरधुरी अन्धकारमा 

 |  बिहीबार, भदौ ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ७, २०८०

म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिका–२ का करिब चार सय घरधुरी डेढ महिनादेखि अन्धकारमा छन्। पहिरोले दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको विद्युत्गृह बगाउपछि लुलाङ, खोरीया, लमसुङ र मेरेनीका बासिन्दाको जनजीवन प्रभावित बनेको हो।

National life

मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको परियोजनको विद्युत् गृह असार अन्तिम साता बगाएको थियो। धौलागिरि गाउँपालिका–२ का वडाध्यक्ष अकप्रसाद विकले परियोजना बगाउँदा चार वटा बस्तीका तीन सय ७० घरधुरी डेढ महिनादेखि अन्धकार बनेका बताए।

‘नहरबाट आएको पानी सङ्कलन हुने ट्याङ्की भरिएर बग्दा खसेको पहिरोले विद्युत् गृह र पेनस्टक पाइप बगाएको छ’, उनले भने, ‘पेनस्टक पाइप, विद्युत् गृह र उपकरण पहिरोले खोलामा मिसाएको छ।’

विसं २०७८ भदौमा बाढीले बगाएको परियोजना मर्मत गरेर छ महिनापछि पुनःसञ्चालन गरिएको थियो। लमसुङमा रहेको परियोजना विसं २०७२ मा जुगेपानी पहिरोले बगाएपछि मरेनीको फेदीमा स्थानान्तरण गरिएको थियो। दरखोला दोस्रो लघु जलविद्युत् परियोजना योसहित तेस्रो पटक पहिरोको चपेटामा परेको छ।

केन्द्रीय प्रसारण लाइन नपुगेको लुलाङका बासिन्दा विद्युत् सुविधाका लागि लघु जलविद्युत् परियोजनामा निर्भर छन्। परियोजना बन्द हुँदा लुलाङका बासिन्दाको जनजीवन प्रभावित भएको उपभोक्ता भक्त सिंकिजा पुनले बताए। उज्यालोका लागि टुकीको भर पर्नुपर्ने, वडा कार्यालय, स्वास्थ्य संस्थाको सेवा प्रभावित, मोबाइल चार्ज गर्न, ल्यापटप, कम्प्युटर चलाउन समस्या भएको छ।

Shivam cement

विद्यार्थीलाई पढ्न र स्थानीयवासीलाई घरायसी काम गर्न समस्या भएको छ। पछिल्लोपटक परियोजना मर्मत गर्न गाउँपालिकाले रु १२ लाख र स्थानीय पूर्वाधार विकास कार्यक्रममार्फत रु दश लाख खर्च भएको थियो।

धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले लुलाङ, खोरीया, लमसुङ र मरेनीमा जति सक्दो छिटो केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण गर्न पहल गरेको बताए। ‘नेपाल विद्युत् प्राधिकरणले यसपालि म्याग्दीमा विद्युतीकरण विस्तारका लागि रु २० करोड बजेटको ठेक्का सम्झौताको तयारीमा छ’ उनले भने, ‘लुलाङको विद्युत्सम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि केन्द्रीय लाइन विस्तारलाई छिटो कार्यान्वयन गराउन पहल गरेका छौँ।’

प्रकाशित: Aug 24, 2023| 10:17 बिहीबार, भदौ ७, २०८०
प्रतिक्रिया दिनुहोस्