काठमाडौं- बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ।
काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको हो।
उक्त दुर्घटनामा मृत्यु हुनेमा ६ जना भारतीय नगरिकहरू राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ७० वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीया श्रीकान्त चतुरबेदी, ६७ वर्षीया बैजन्ती देवी, ६५ वर्षीया मिरा देबी र एक जना महोत्तरीको लोहारपटी-५ का ४१ वर्षीय विजय लाल पण्डित रहेका छन्।
दुर्घटनामा घाइते भएका अन्य १७ जनाको हेटौंडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। अवस्था सामान्य भएका केहीको भने उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि बसका चालक फरार छन्।
घाइते हुनेमा भारत राजस्थान बस्ने ४८ वर्षीय घनश्याम चतुर्वेदीको हेटौंडा ११ स्थित चुरेहिल अस्पतालमा उपचार भैरहेको छ। यस्तै, धनुषा मौवा गाउँपालिका १८ जनकपुर बस्ने ४१ वर्षका घुरन मण्डल, महोत्तरी लोहारपति नगरपालिका - ५ बस्ने २६ वर्षीय जसबेन्दर पासवानको हेटौंडा अस्पतालमा सामान्य उपचारपश्चात् डिस्चार्ज भएको बाराका डिएसपी दलिराम न्यौपाने जानकारी दिए।
यस्तै, भारत राजस्थान बस्ने ५३ वर्षकी मायादेवी, सोही स्थानको ३५ वर्षका अनिलकुमार, ५० वर्षका तारावती चतुर्वेदी, निजकै नातिनि ९ वर्षकी क्रितिका चतुर्वेदी, ४८ वर्षका श्यामलाल माली , वर्ष ४७ का हरवारी माली, ७० वर्षीया चौथी देवीको हेटौंडा अस्पतालमा उपचार भैरहेको प्रहरी बताएको छ।
यस्तै, राजस्थानकै ७२ बर्षिय सुरेस चन्द्र चक्रवती, ६३ बर्षका धरम सिंह, ६ बर्षकी ईन्दु धाकद,१६ बर्षकी गर्बिदा चतुर्वेदी, सोही स्थानका ५४ वर्षीय राम कुमार चतुर्वेदीको पनि हेटौंडा स्थित हेटौंडा अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार महोत्तरी जलेश्वर नगरपालिका बस्ने ३८ वर्षीय बिहारी मुखीयाको हेटौंडा १ स्थित सञ्चो अस्पतालमा उपचार भैरहेको छ भने भारत राजस्थानका ७३ वर्षीय राम प्रसाद पिको चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुरमा रिफर गरिएको छ।