बुधबार, जेठ २७, २०८३

पाँच दिनपछि खुल्यो बेनी-जोमसोम सडक 

 |  बुधबार, भदौ ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ६, २०८०

म्याग्दी- मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को जलथलेदेखि दुवारी खण्डको सडक पाँच दिनपछि सञ्चालन भएको छ। 

National life

अन्नपूर्ण गाउँपालिकाको जलथले, गुँइठे, सुकेबगर, खामभिक्ता लगायतका क्षेत्रमा अविरल वर्षासँगै ५० भन्दा बढी ठाउँमा खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा शनिबारदेखि सिधा यातायात सञ्चालन हुन सकेको थिएन। 

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले पहिरो पन्छाएर बुधबार बिहान सडक खुलाइएको जानकारी दिए। ‘कालीगण्डकीको कटान, कमजोर भूगोल, भूमिगत पानीको उचित व्यवस्थापन नहुनु र शाखा सडकका कारण सिर्जना भएको पहिराले जलथले–दुवारी खण्डको सडक क्षतविक्षत बनाएको छ’, उनले भने, ‘चार डोजर, मलगायत आयोजनाका इञ्जिनियर र प्राविधिकहरुको टोली पाँच दिनदेखि खटेर सडक खुलाएका छौँ।’

सडक खुलेपछि जलथले र दाना क्षेत्रमा रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन्। सडक अवरुद्ध भएपछि दानादेखि नारच्याङको घरापसम्म हिलाम्मे सडकमा कष्टपूर्ण यात्रु पैदलयात्रा गर्न बाध्य भएका थिए। सडक मर्मतका क्रममा गुँइठेको भीरबाट खसेको ढुङ्गाले चोट लागेर सडक विभागका डोजर अपरेटर नारायण गिरी र सवारी चालक सुभाष कुमाल घाइते भएका आयोजना प्रमुख प्रजापतिले जानकारी दिए। 

आयोजना प्रमुख प्रजापति, इञ्जिनियर विष्णु चापागाइँ, सवारी चालक अजय स्याङ्ताङ, सुपर भाइजर इन्द्रसिंह शेरचनसहितको टोली पहिरो पन्छाउने र सडक मर्मतमा परिचालन भएको थियो। 

Shivam cement

म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पहिरोको जोखिम रहेकाले रातको समयमा र अत्यावश्यक काम नपरी यात्रा नगर्न सूचना प्रकाशन गरेर यात्रुहरुलाई अनुरोध गरेको बताए। 

गत साउन २४ गते बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सीमा क्षेत्रमा पर्ने बैसरी अँधेरीखोलामा पहिरो खसेर घाइते भएका गाडी चालक अन्नपूर्ण–७ महभीरका ४० वर्षीय लुप्सन शेरपुजाको मृत्यु भएको थियो। 

बैसरीमा १२ दिन अवरुद्ध भएको सडक साउन ३१ गते खुलाइएको थियो। बैसरीको पहिराको समस्या समाधान भए पनि जलथले–दुवारी खण्डमा पहिराले दुःख दिन थालेको छ। 

प्रकाशित: Aug 23, 2023| 14:07 बुधबार, भदौ ६, २०८०
प्रतिक्रिया दिनुहोस्