काठमाडौं– प्रहरीले विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड ब्यागेज एरियाबाट अवैध लागूऔषध चरेशजस्तो देखिने पदार्थ ११ केजी ७ सय ग्रामसहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा लम्जुङ दोर्दी गाउँपालिका–५ फोर्जुङका ३४ वर्षीय सुन्दर गुरुङ र लम्जुङ छैलुङका ४७ वर्षीय औताराम गुरुङ रहेका छन्।
बाटिक एयरको उडानद्वारा मलेसिया हुँदै थाईल्यान्ड जान लागेका उनीहरूको लगेजभित्र फल्स बटम बनाई टेपले ¥यापिङ गरिएको अवस्थामा सुन्दरको साथबाट ६ केजी र औता रामको साथबाट ५ केजी ७ सय ग्राम उक्त पदार्थ फेला परेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरमा बुझाइएको छ।
यसैगरी काठमाडौं महानगर–३२ स्थित खाजा पसलबाट अवैध लागूऔषध गाँजा करिब ५० ग्रामसहित काठमाडौं जडीबुटी बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–२ का २६ वर्षीय धीरज लामासहित ८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
उक्त पसलमा गाँजा सेवन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो।
बाँकेको नेपालगन्ज उपमहानगर–१६ टंकपसरीबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ १० ग्रामसहित सोही उपमहानगर–१५ जमुनाह बस्ने २० वर्षीय ओसिम साईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज र इलाका प्रहरी कार्यालय जयसपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
प्रहरीका अनुसार झापाको बिर्तामोड नगरपालिका–४ नयाँ बिजुली अफिस नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ५०० मिलिग्राम र २ थान मोबाइलसहित २ जनालाई मंगलबार दिउँसो पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा सोही नगरपालिका–३ बस्ने ३५ वर्षीय सन्तोष भन्ने तेजबहादुर राई र ३८ वर्षीय राज भन्ने कृष्ण लिम्बू रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
यस्तै, मोरङको विराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम २८ मिलिग्रामसहित सुनसरी इटहरी उपमहानगर–८ बस्ने २६ वर्षीय विशाल सिंहलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो। सब घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।