बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बाल सुधार गृह घटनाको अपडेट : फरारमध्ये थप १० जना पक्राउ, अझै शव परीक्षण भएन

बाल सुधार गृह घटनाको अपडेट : फरारमध्ये थप १० जना पक्राउ, अझै शव परीक्षण भएन

 |  मंगलबार, भदौ ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

भक्तपुर- मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहबाट सोमबार फरार भएकामध्ये प्रहरीले आज थप १० जनालाई पक्राउ गरेको छ। 

National life

सोमबार दिउँसो सुधार गृहको पछाडिको गेट भत्काएर भागेका दुई सय २१ जना बन्दीमध्ये प्रहरीले पक्राउ गर्न बाँकी १७ जनामध्ये आज दिनभरमा १० जना पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए। 

फरार रहेकामध्ये सोमबार रातिसम्ममा एक सय चार जनालाई पक्राउ गरेको र आज थप १० जनालाई उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरेको उनले जानकारी दिए। बाँकी सात जना पनि भोलिसम्म पक्राउ गरिसक्ने उनले बताए।

जिल्ला प्रहरी कार्यालय रामेछापबाट २०७७ जेठ २९ गते १८ वर्षको उमेरमा पाँच वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सजाय भुक्तान गर्न बाल सुधार गृह सानोठिमीमा ल्याइएका रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको उच्च ज्वरोलगायतका कारण आइतबार बिहान मृत्यु भएपछि सुधार गृहमा सुरु भएको घटनाले सोमबार भयावह रुप लिएको थियो।

सोमबार दिउँसो घरेलु हतियार लिएर गेट भत्काएर बाहिर निस्किएका बन्दीले प्रहरीलाई लखेट्दै कुट्ने गरेपछि प्रहरीले दुई राउण्ड अश्रृग्यास प्रहार गर्नुका साथै तीन राउण्ड गोली चलाएको थियो। घटना १९ सुरक्षाकर्मी र १० जना बन्दी गरी २९ जना घाइते भएका थिए। केही घाइते उपचारपश्चात् फर्किएको र बाँकीको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

Shivam cement

सुधार गृहबाट उपचारका लागि नागरिक अस्पताल पुर्‍याएपछि मृत्यु भएका बस्नेतको अझै शव परीक्षण भएको छैन। मृतकका परिवार तथा आफन्तले प्रहरीमा जाहेरी नदिएकै कारण शव परीक्षण हुन नसकेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए। उनले मृतकका परिवारसँग भएको छलफलमा भोली जाहेरी दिने र त्यसपछि शव परीक्षण गर्ने तयारी भएको उनले जानकारी दिए। सुधार गृहभित्र आइतबारबाट भएको घटनाले उग्ररुप लिए पछि तीनदिनदेखि यहाँ रहेका बालबालिका भने त्रसित रहेका छन्। 

छानबिन सुरु 
आइतबारको घटनापछि जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले घटनाबारे यथार्थ बुझ्न सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा गठन गरेको छानबिन समितिले आजदेखि काम सुरु गरेको छ।

घटनाको अनुसन्धान तथा छानबिन गरी सत्यतथ्य ल्याउन सहायक सिडिओ निरौलाको नेतृत्वमा प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठक, जिल्ला प्रशासन कार्यालयका अधिकृत अशोककुमार पोखरेल सदस्य सचिव र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकृत प्रतिनिधि सदस्य रहेको छानबिन समिति गठन गरेकोमा त्यस समितिले आजैदेखि आफ्नो काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए। 

उनले भने, ‘छानबिन समितिले आजैदेखि आफ्नो काम सुरु गरेको छ। आज समितिको टोलीले सुधार गृह गएर त्यहाँका बन्दी, कर्मचारी, व्यवस्थापकलगायतका विभिन्न व्यक्तिसँग सोधपुछ गर्ने काम सुरु भएको छ। सात दिनभित्र यसको प्रतिवेदन आएपछि सुधार गृह र घटनाको वास्तविकता आउने छ।’

त्यसैगरी बालबन्दीबाट सोमबार फरार हुनेक्रममा सुधार गृह र युसेप नेपालमा भएको तोडफोडको यकिन क्षति विवरण सङ्कलन गर्ने कार्य आज भएको उनले बताए। भोलिसम्म क्षतिको पूर्ण विवरण आउने उनले जानकारी दिए।

प्रकाशित: Aug 22, 2023| 21:42 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्