मंगलबार, असार ३१, २०८२

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाले ज्यान गुमाए

पाल्पा, महोत्तरी, सल्यान, सिरहालगायत स्थानमा भएका सवारी दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको हो।
 |  मंगलबार, भदौ ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

vianetvianet

काठमाडौं– मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर ६ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ।

सिरहाको कर्जन्हा नगरपालिका–३ स्थित सडकमा हाल नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६० वर्षीया महिलाको गए राती घटनास्थलमै मृत्यु भएको छ। ठक्कर दिने सवारीसाधनको प्रहरीले खोजी गरिरहेको छ। 

सल्यानको कपुरकोट गाउँपालिका–३ आगरखोलास्थित सडकमा रुकुम पश्चिमबाट दाङतर्फ जाँदै गरेको लु२ख ५७३१ नम्बरको हाइस सडकबाट अन्दाजी २५० मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना हुँदा हाइसमा सवार २ जनाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका रुकुम पश्चिम सानीभेरी गाउँपालिका–११ का ६० वर्षीय कमारो कामी र सल्यान दार्मा गाउँपालिका–२ का ३६ वर्षीय ओमपद खत्रीको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुर दाङमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका हाइसमा सवार १४ जनालाई थप उपचारका लागि नर्सिङ होम नेपालगञ्ज बाँके रिफर गरिएको छ भने ३ जना उपचारपछि डिस्चार्ज भएका छन्। हाल फरार हाइस चालकको प्रहरीले खोजी गरिरहेको छ।

यस्तै, महोत्तरीको बर्दिबास नगरपालिका–२ हङकङ डाँडास्थित सडकमा रोकी राखेको ना१क ९७७९ नम्बरको बर्दिबास बोर्डिङ स्कुलको बसमा प्रदेश २–०२–००४प७०६७ नम्बरको मोटरसाइकल ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ।

दुर्घटना गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका–८ बस्ने २२ वर्षीया रविना महतोको ट्रमा सेन्टर बर्दिबास र मोटरसाइकलमा सवार उनकै बुबा ५५ वर्षीय उपेन्द्र महतोको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रहरीका अनुसार पाल्पाको माथागढी गाउँपालिका–२ सपाङ्दीस्थित सडकमा झडेवाबाट रुप्सेतर्फ जाँदै गरेको लु४त ६६३२ नम्बरको ट्रयाक्टर आफंै अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा ट्रयाक्टर सहचालक सोही गाउँपालिका–२ दोहोराका ३८ वर्षीय वेदप्रसाद भुसालको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका ट्रयाक्टरमा लेबर काम गर्ने ५ जनामध्ये २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने ३ जना उपचारपछि डिस्चार्ज भएका छन्।

हाल फरार ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ। दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 22, 2023| 15:41 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्