मंगलबार, असार ३१, २०८२

पनातिसँग १ कक्षामा पढिरहेका प्रेमबहादुर

उमेरमा पढ्न नपाए पनि उनमा पढाइको भोक मरेन र अहिले उनी दैनिक विद्यालय जान्छन्। कुनै समय घर-व्यवहारमा व्यस्त हुने डाँगीको दिन हिजोआज विद्यालयका बालबालिकासँग बित्छ।
 |  मंगलबार, भदौ ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

vianetvianet

दाङ- पिठ्युँमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर-१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको। उमेरमा पढ्न नपाए पनि उनमा पढाइको भोक मरेन र अहिले उनी दैनिक विद्यालय जान्छन्। कुनै समय घर-व्यवहारमा व्यस्त हुने डाँगीको दिन हिजोआज विद्यालयका बालबालिकासँग बित्छ।

उनी पनाति उमेरका विद्यार्थीसँग कक्षा १ मा पढ्न थालेका छन्। चालु शैक्षिक सत्रदेखि उनले कक्षा १ को पढाइ सुरु गरेका हुन्। सोही वडाको वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा उनी पढ्न थालेका हुन्। उनी पढ्नकै लागि भमकेबाट एक घण्टा पैदल हिँडेर भ्यूडहर सुनपुर पुग्छन्।

उनले भने, ‘सानोमा पढ्न पाइनँ। गाउँमा पनि आफूसँग गफगाफ गर्ने साथी पनि भेटिएनन्। बुढेसकालमा भए पनि केही कुरा सिकौं भनेर स्कुल पढ्न आएको हुँ।’ घरमा एक्लै बस्नुभन्दा विद्यालय जान थालेको उनको भनाइ छ। उनले आफू बाँच्दासम्म पढिरहने बताए। उनले भने, ‘सानोमा पढ्न नपाए पनि मेरो पढ्ने चाहना धेरै थियो। जे भए पनि मर्ने बेला केही अक्षर सिकेर मरौं भन्ने मेरो चाहना हो।’

उनी पढ्नमा पनि त्यति कमजोर छैनन्। कक्षा शिक्षक राजेन्द्रकुमार शर्माका अनुसार कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तै हुने भएकाले किताबमा भनेअनुसार लेख्न सक्ने भएको बताए।

DB-Tulsipur-RSS-90yearspadhai1692618459.jpg

उनले भने, ‘परिपक्व दिमाग भएर पनि होला, कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तो हुन्छ। त्यो पुस्तिकाअनुसार उहाँले लेख्न सक्नुहुन्छ।’

अंग्रेजी अलि गाह्रो लाग्ने गरे पनि नेपाली भाषाका सबै किताब उनले राम्रोसँग पढ्न सकेको बताए। डाँगी विद्यालयमा पढ्न आउनुले समाजमा पढाइको महत्व झल्काएको विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्तीले बताए।

उनले भने, ‘उहाँ सुरुमा आउँदा अचम्म पनि लागेको थियो, तैपनि कक्षा १ मा भर्ना गर्यौं। अहिले उहाँ आउँदा मान्छे बूढो भए पनि पढाइ बूढो हुँदैन भन्ने एउटा उदाहरण बन्नुभएको छ।’

विद्यालयले उनलाई सम्मान गर्ने योजना बनाएको समेत प्रअ घर्तीले बताए। उनी विद्यालयको गहना भएकाले सम्मान पनि गर्ने र नियमित विद्यालय आउँदा विद्यालय पोशाक लगाउनुपर्ने भएकाले विद्यालय पोशाक पनि किनिदिने योजना बनाएको बताए। - रासस

प्रकाशित: Aug 22, 2023| 09:02 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्