बुधबार, जेठ २७, २०८३

'लम्पी स्किन' रोगविरुद्धको खोप अभाव

 |  मंगलबार, भदौ ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

कञ्चनपुर- कञ्चनपुरको ग्रामीण क्षेत्रका पशुचौपायामा लम्पी स्किन रोगको समस्या फैलिरहँदा खोपको अभाव देखिएको छ। नौ वटै स्थानीय तहका पशुचौपायामा लम्पी स्किन रोगको संक्रमण दिनहुँ बढिरहेको भए पनि त्यसविरुद्ध लगाइने खोपको अभाव छ।

National life

केही महिनायता पशुचौपायामा लम्पी स्किन रोगको संक्रमण बढ्दै गएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका निमित्त प्रमुख महेन्द्रराज पाण्डेयले जानकारी दिए।

उनले भने, ‘हामीलाई खोपको अभाव छ, त्यसैले खोप लगाउन सकेका छैनौँ, कार्यालयमा आउने किसानलाई पशुमा देखिएको लक्षणका आधारमा औषधि दिइरहेका छौँ। संक्रमित पशुको उपचार भइरहेको छ।’

खोपको उपलब्धताका लागि पहल भइरहेको उनको भनाइ छ। संक्रमणले पशुचौपाया मर्न थालेपछि स्थानीय किसान चिन्तित बनेका छन्।

भीमदत्त नगरपालिका-१३ का प्रमानन्द भट्टले भने, ‘ज्वरो आउने, र्याल बगाउने, शरीरमा गिर्खा आउने, खुर पाक्नेलगायत लक्षण देखिन्छन्, अन्तिममा पशुको मृत्यु हुन्छ। यस्तै लक्षण देखिएपछि केही महिनाअघि ५० हजारमा किनेको भैँसी मर्यो, अहिले गोठ रित्तो छ।’

Shivam cement

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको तथ्यांकअनुसार यहाँका करिब तीन हजारभन्दा बढी पशुचौपायामा लम्पी स्किनको संक्रमण देखिएको छ।

दैनिक २०-२५ पशुचौपायामा संक्रमण देखिने गरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका निमित्त प्रमुख पाण्डेयले बताए।

उनका अनुसार अहिलेसम्म जिल्लामा लम्पी स्किनको संक्रमणका कारण दुई सय पशुचौपाया मरेका छन्। सबैभन्दा बढी भीमदत्त, बेदकोट र पुनर्वास नगरपालिकामा संक्रमण देखिएको निमित्त प्रमुख पाण्डेयले बताए।

गाईगोरुमा लम्पी स्किनको संक्रमण देखिएसँगै मर्न थालेपछि किसान चिन्तित बनेका छन्। किसान बजारबाट खोप खरिद गरेर चौपायालाई लगाइरहेका छन्।

बेदकोट नगरपालिकाका मनोज जोशीले भने, ‘लम्पी स्किनको सङ्क्रमण गाउँमा फैलिएको छ, यो संक्रमणले चौपायाको मृत्यु भइरहेको सुनेपछि सुरक्षित राख्न पशुचौपायालाई खोप लगाएँ। बजारमा खोप पाइँदैन, पाइहाले पनि निकै महँगो छ।’

संक्रमणविरूद्धको खोप महँगो हुनाले विपन्न किसानलाई लम्पी स्किनबाट पशुचौपाया जोगाउनै धौधौ परेको छ। लक्षण देखिएका पशुचौपायालाई छुट्टै ठाउँमा राखेर सरसफाइका साथै औषधोपचारमा विशेष ध्यान दिनुपर्नेमा पुनर्वास नगरपालिकाको पशु सेवा शाखा अधिकृत अनिता केसीले जोड दिए।

उनले भने, ‘औषधोपचारबाट पनि धेरै संक्रमित चौपाया निको भएका छन्, तर केही समय लाग्ने गरेको छ, औषधोपचारमा विशेष ध्यान दिनुपर्छ। अहिले हामीले सङ्क्रमण देखिएको चौपायाको उपचार गर्ने कार्य गरिरहेका छौँ।’

प्रकाशित: Aug 22, 2023| 09:41 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्