बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • दरमखोलाको माछा मार्न रोक, प्रतिबन्धको उल्लंघन गरे एक लाखसम्म जरिवाना

दरमखोलाको माछा मार्न रोक, प्रतिबन्धको उल्लंघन गरे एक लाखसम्म जरिवाना

 |  सोमबार, भदौ ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ४, २०८०

गलकोट- बागलुङको गलकोट नगरपालिकाले दरमखोलाका माछा मार्न रोक लगाएको छ। दरमखोलाको असला माछा लोप हुने खतरा बढेको भन्दै माछा मार्न रोक लगाइएको नगरपालिकाले जनाएको छ।

National life

दरमखोलाको माछा नेपालमै चर्चित र स्वादिष्ट रहेको तथा गलकोटको पहिचानसँग जोडिएको भन्दै संरक्षणका लागि माछा मार्न रोक लगाइएको हो। दरमखोलाका माछाको माग उच्च भएपछि गैरकानूनी र परम्परागत दुवै तरिकाले माछा मार्न रोक लगाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगाबहादुर भुजेलले जानकारी दिए।

दरमखोलाको असला माछाको संरक्षण र दीगो उपयोगिताका लागि जलचर संरक्षण नीति, कार्यक्रम र बजेटसमेत ल्याइएको जनाउँदै भुजेलले भदौ र असोजमा दरमखोलामा माछा मार्न पूर्णरुपमा प्रतिबन्ध लगाइएकाले अटेरी गर्नेलाई जरिवाना गरिने बताए। 'यहाँको पहिचानसँग जोडिएको दरमखोलाको असला माछा संरक्षण गर्ने नगरपालिकाको नीति छ, नगरपालिकाले जलचर संरक्षण कार्यविधि २०८० बनाएर कार्यान्वयन थालेको छ', उनले भने, 'विशेषगरी वर्षा ऋतुमा असला माछाले फुल पार्ने अवधि भएकाले भदौ र असोजमा माछा मार्न प्रतिबन्ध लगाइएको हो, प्रतिबन्धको उल्लंघन भए कार्यविधिको दफा १४ बमोजिम एक लाख रूपैयाँसम्म जरिवाना गर्नेछौँ।'

असोजपछि भने परम्परागत तरिकाले माछा पार्न पाइनेछ। यहाँको असला माछा विदेशमा समेत कोसेलीका रुपमा निर्यात हुने गरेको छ। निकै स्वादिष्ट मानिने दरमखोलाको माछा लोप हुन थालेपछि नगरपालिकाले संरक्षणको नीति बनाएको हो।

बागलुङको ताराखोलादेखि गलकोट हुँदै बडिगाडमा मिसिन पुग्ने दरमखोलाको असला माछा धेरै पाइनेमध्येको खोला रहेको स्थानीयको भनाइ छ। यहाँको चिसो पानीमा पाइने माछा सबैको रोजाइमा पर्छ। यहाँ परम्परागत शैलीमा ढडिया र जाल हालेर माछा संमलज गरिँदै आएको छ।

Shivam cement

असला माछा पोखरीमा नपाल्ने र हिउँखोलामा पाइने भएकाले यसको स्वाद अरू पोखरीमा पालिने माछाका प्रजातिको तुलनामा फरक हुने भन्दै माछाका पारखीले दरमखोलाको माछा अत्यधिक रुचाउने गरेका छन्। यहाँका सयभन्दा बढी स्थानीयले दरमखोलाको माछा मार्ने पेसालाई मुख्य आम्दानीको स्रोतका रुपमा लिएका छन्। नगरपालिकाले भदौ र असोजमा माछा मार्न रोक लगाएपछि दरमखोलाका माछा संरक्षणमा ठूलो सहयोग पुग्ने नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिए।

प्रकाशित: Aug 21, 2023| 22:02 सोमबार, भदौ ४, २०८०
प्रतिक्रिया दिनुहोस्