बुधबार, जेठ २७, २०८३

बाल सुधार गृहमा गोली चल्यो, तीनजना घाइते

 |  सोमबार, भदौ ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ४, २०८०

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ सानो थिमिस्थित बाल सुधार गृहमा गोली चलेको छ। सोमबार सुधार गृहमा भएका बन्दीहरुले प्रहरीमाथि आक्रमण गरी मूल ढोका फोडेर बाहिर निस्कन थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। सो क्रममा तीन कैदी र केही प्रहरी घाइते भएका छन्।

National life

घाइते बन्दीमध्ये एक गम्भीर घाइते भएको जनाइएको छ। घाइतेहरुको नागरिक अस्पतालमा उपचार भइरहेको छ। सुधार गृहमा सजाय भुक्तान गरिरहेका रामेछापको मन्थली नगरपालिका-३ कठजोरका १८ वर्षिय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएको थियो। सुधार गृहको लापरबाहीले बस्नेतको मृत्यु भएको भन्दै आफन्तले सुधार गृह बाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए।

सोही क्रममा सुधार गृहभित्रका बन्दीहरुले पनि नाराबाजी गर्दै विरोध प्रदर्शन गरिरहेका थिए। यसैक्रममा भित्रका बन्दीहरु सुधार गृहको कम्पाउण्डको मूल ढोका फोडर बाहिर निस्किने र प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। बन्दीहरुले सुधार गृह बाहिर निस्केर प्रहरीमाथि आक्रमण गर्दै लखेट्न सुरु गरेका थिए। उनीहरुले प्रहरीलाई एसओएस स्कुलसम्म लखेटेका थिए।

सुधार गृहमा सशस्त्र प्रहरी बलको टोलीले सुरक्षा दिइरहेको छ। प्रहरीले फरार बन्दीमध्ये २० जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त थिमिमा राखेको छ।

प्रकाशित: Aug 21, 2023| 16:14 सोमबार, भदौ ४, २०८०
प्रतिक्रिया दिनुहोस्