बुधबार, जेठ २७, २०८३

काठमाडौं महानगर भित्रका दर्ता नभएका टिकट काउण्टर हटाउन सुरु

 |  सोमबार, भदौ ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ४, २०८०

काठमाडौं- काठमाडौं महानगरपालिकाले दर्ता नभएका बस टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको छ। काठमाडौँको ट्राफिक व्यवस्थापनलाई चुस्त र यात्रुमैत्री बनाउने उद्देश्यले महानगरले दर्ता नगरी सञ्चालनमा आएका टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको हो।

National life

महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले गत साउन २६ गते सूचना जारी गरी जथाभावी रुपमा सञ्चालित काउन्टर हटाउने निर्णय गरिएको जनाउँदै दर्ता नभएका काउण्टर भदौ १ देखि हटाउन सुरु गरिएको राससलाई जानकारी दिए। उनका अनुसार हालसम्म कोटेश्वरमा ४१, गौशालामा २७, चावहिलमा २१ र गोँगबु क्षेत्रमा ११ काउण्टर हटाइएको छ। 

कलङ्की र बल्खु क्षेत्रमा पनि दर्ता नभएका काउन्टर हटाउन सुरु गरिएको प्रहरी प्रमुख पाण्डेले बताए। महानगर प्रहरीले चावहिलमा अनाधिकृत रुपमा निर्माण गरिएका १० काउण्टर डोजर लगाएर भत्काएको जनाएको छ।

उपत्यकाबाट बाहिर सञ्चालन हुने यात्रुबाहक सार्वजनिक सवारी साधनका लागि तोकिएको मापदण्डअनुरुप व्यावसायिक ठेगानासहित सम्बन्धित वडा कार्यालयमा बुकिङ कार्यालय अनिवार्य दर्ता गर्न महानगरले सम्बद्ध सबैलाई आग्रह गरेको छ। टिकट बुकिङ कार्यालय सडक चोकको एक सय मिटर वरपर खोल्न नपाउने, बुकिङ कार्यालयअन्तर्गत मुख्य कार्यालय गोँगबुस्थित नयाँ बसपार्कभित्र अनिवार्यरुपमा हुनुपर्ने, नयाँ बसपार्कदेखि महाराजगञ्ज र बाफलसम्म कुनै पनि कार्यालय खोल्न नपाउने महानगरपालिकाले जनाएको छ।

यस्तै, बुकिङ कार्यालयमा अनिवार्य भाडादर उल्लेख गरिएको बोर्ड राख्नुपर्ने, टिकट काट्न आउने सेवाग्राहीका लागि अनिवार्य आधारभूत आवश्यकता (पार्किङ, शौचालय, पानी, बत्ती बस्ने)लगायत व्यवस्था हुनुपर्ने, कार्यालयका कोठा कम्तीमा १० देखि १५ फिटको हुनुपर्ने, कर्मचारीले पोसाक र परिचयपत्र अनिवार्यरुपमा लगाउनुपर्नेलगायत व्यवस्था गरेको छ।

Shivam cement

यसअघि महानगरले काठमाडौँभित्र जथाभावी रुपमा टिकट बुकिङ कार्यालय खोल्ने तथा सडकमा यात्रुलाई चढाउने सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट मात्रै सञ्चालन गर्ने व्यवस्था गरेको थियो। सोही व्यवस्थाअनुसार अहिले अधिकांश सवारीसाधन नयाँ बसपार्कभित्रबाट सञ्चालन हुँदै आएका छन्।

प्रकाशित: Aug 21, 2023| 15:19 सोमबार, भदौ ४, २०८०
प्रतिक्रिया दिनुहोस्