काठमाडौं- जलनका विपन्न बिरामीलाई लक्षित गरी जलन कोष स्थापना गरिएको छ। जनस्वास्थ्य सरोकार ट्रष्ट नेपाल र कीर्तिपुर नगरपालिकाको सहकार्यमा कोषको स्थापना गरिएको हो।
कोषमा जम्मा भएको रकमबाट सामाजिक सेवा इकाइमार्फत कीर्तिपुर बर्न अस्पतालमा विपन्न, असहाय तथा बेवारिसे बिरामीको उपचार गरिनेछ। जलनको महँगो उपचार र नेपालमा यसको मृत्युदरलाई ध्यानमा राख्दै कोष स्थापना गरिएको अस्पतालका प्लाष्टिक सर्जरी विभाग प्रमुख डा. किरण नकर्मीले बताए।
कोषको संरक्षकमा सांसद भण्डारी तथा वरिष्ठ कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य रहेका छन्। कोषमा ‘बर्न फन्ड फेक्ट नेपाल’को नाममा रहेको कृषि विकास बैंकको खाता नम्बर ०२१११०५३२७५९१०२१ मा प्रत्यक्ष तथा अनलाइन माध्यमबाट रकम जम्मा गर्न सकिनेछ।
कीर्तिपुर अस्पतालमा मात्रै वार्षिक ६०० भन्दा बढी जलनका बिरामीको उपचार हुने गरेको छ। जलनको उपचारमा दुई तिहाइ खर्च औषधि र उपचारका लागि चाहिने सामग्रीमा नै खर्च हुने भएकाले न्यूनआय भएका परिवारलाई अत्यन्तै कठिन हुने गरेको डा. नकर्मीले बताए।