नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवासको सरकारी जग्गा हडपेको प्रकरणमा अनुसन्धान सकेको छ। अनुसन्धान प्रतिवेदन आज आइतबार सरकारी वकिलको कार्यालयमा बुझाउने सीआईबीको तयारी छ।
सरकारी वकिलको कार्यालयले अनुसन्धान प्रतिवेदन अस्ति शुक्रबार नै पेस गर्न ताकेता गरेको थियो। तर, सीआईबीले प्रतिवेदन लेखनको काम भइरहेको भनेर शुक्रबार प्रतिवेदन पेस गर्न नभ्याउने जानकारी गराएको थियो।
सरकारी जग्गा व्यक्तिको बनाउँदा सरकारी कागजात तथा दस्तखत किर्ते भएको प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ। संगठित रुपमा नै किर्ते भएको कसुरमा सीआईबीले अनुसन्धान गरेको हो। किर्ते र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न ६० दिनको समय हुन्छ। यो अवधि सकिनै लाग्दा सीआईबीले अनुसन्धान प्रक्रिया टुंग्याएर प्रतिवेदन लेखन पनि लगभग सकेको छ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउँदा भएको किर्तेको अनुसन्धान सुरु गरेर सीआईबीले असार १२ गते पहिलोपटक आरोपीहरु पक्राउ गरेको थियो। सोही दिनदेखि अनुसन्धान सुरु गरेको मिति मानिने हुँदा अब भदौ ९ गतेभित्र अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्छ।
त्यो भन्दा अघि सरकारी वकिल कार्यालयले पनि फाइल अध्ययन गर्नुपर्ने भएकाले आज प्रतिवेदन बुझाउने तयारी सीआईबीको छ। ललिता निवासको जग्गा प्रकरणमा हाल १८ जना सीआईबीको हिरासतमा रहेका छन्।