बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कैदीबन्दी मृत्यु प्रकरण : प्रहरीसहित १२ जनामाथि अनुसन्धान हुँदै

कैदीबन्दी मृत्यु प्रकरण : प्रहरीसहित १२ जनामाथि अनुसन्धान हुँदै

 |  शनिबार, भदौ २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २, २०८०

किमाथांका- संखुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीसहित १२ जनामाथि अनुसन्धान थालिएको छ। कैदीको हत्या प्रकरणमा प्रहरी र कैदी अनुसन्धानमा तानिएका हुन्।

National life

सिसीटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नताले देखिएको थियो। कैदी मृत्यु प्रकरणमा प्रहरीसहित १२ जना अनुसन्धानको दायरमा तानिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।

घटनामा संलग्न देखिएका प्रहरी र कैदीमाथि म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक गोदारले बताए। कैदी मृत्यु प्रकरणमा प्रत्यक्ष संलग्न देखिएका पाँच प्रहरीलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको उनले जानकारी दिए।

प्रहरीले साउन २८ गते आइतबार कारागार सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरीमाथि पाँच दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको थियो। असई चौधरीलाई शुक्रबार पुनः पाँच दिन म्याद थप गरेको छ भने अन्य ११ जनालाई पहिलो म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

घटनामा संलग्नलाई छानबिन टोलीको प्रतिवेदनका आधारमा थप कारबाहीको प्रक्रिया अघि बढाइने प्रहरी नायब उपरीक्षक गोदारले बताए। घटनापछि गृह मन्त्रालयले कारागार विभागका निर्देशक कमलप्रसाद पाण्डेको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली बनाएको थियो। पीडितले दिएको किटानी जाहेरीका आधारमा सहायक निरीक्षक चौधरीसहित कारागार निमित्त प्रमुख राजेन्द्र घिमिरेविरुद्ध जिल्ला अदालत सङखुवासभाले गत साउन २८ गते पक्राउका लागि अनुमति दिएको थियो।

Shivam cement

प्रहरीले घटनालगत्तै कारागार सुरक्षामा खटिएको १० प्रहरी र चौकीदारसहित नौ कैदीलाई नियन्त्रणमा लिएको थियो। कारागार निमित्त प्रमुख घिमिरेलाई भने हालसम्म पक्राउ गरिएको छैन। कुटपिटबाट सङ्खुवासभा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो। पच्चीस जनाको क्षमता रहेको कारागारमा अहिले एक सय ३६ जना कैदीबन्दी छन्।

प्रकाशित: Aug 19, 2023| 21:31 शनिबार, भदौ २, २०८०
प्रतिक्रिया दिनुहोस्