बुधबार, जेठ २७, २०८३

हत्या अभियोगमा दुईजना पक्राउ

 |  शनिबार, भदौ २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २, २०८०

झापा- मेचीनगर नगरपालिका–८ मुनियाँ टोलका मजदुरी गर्ने ३५ वर्षीय सुन्दर किसानको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।

National life

सुन्दरको हत्यामा नाताले दाजु पर्ने ४८ वर्षीय सुनरसी किसान र ५६ वर्षीय रामजी किसानको संलग्नता रहेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र रिजालले बताए।

गत बुधवार साँझ हराएका सुन्दरको शव बिहीबार बिहान घर नजिकैको खोल्सीमा झारले छोपेको अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए।

प्रहरीले परीक्षणका लागि शवलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो। घटनास्थलमा प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसमेत झिकाएर अनुसन्धान गरिएको थियो।

अभियुक्तद्वयले रिसइवीका कारण सुन्दरको हत्या गरेको प्रहरीसमक्ष बयान दिइसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रिजालले जानकारी दिए।

Shivam cement

प्रहरी हिरासतमा रहेका दुवै अभियुक्तलाई कर्तव्य ज्यानको अभियोगमा कानुनी कारबाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनास्थल नजिकैबाट धारिलो फलामको सिकल र खन्ती प्रहरीले बरामद गरेको छ।

घटना भएको दिन सुन्दर साँझपख नजिकैको विद्योदय आधारभूत विद्यालयमा फुटबल हेर्न भनी घरबाट निस्केका थिए। घर फर्किनुअघि अभियुक्तहरूले नियन्त्रणमा लिएर सुन्दरको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रकाशित: Aug 19, 2023| 19:24 शनिबार, भदौ २, २०८०
प्रतिक्रिया दिनुहोस्