मंगलबार, वैशाख २९, २०८३

स्याउ टिप्न थाले मनाङका किसान 

मनाङको तल्लो क्षेत्रमा लगाइएका गाला, मेमा र रेड डेलिसियस प्रजातिका स्याउ टिप्न थालिएको हो।
 |  शुक्रबार, भदौ १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १, २०८०

मनाङ– हिमाली जिल्ला मनाङमा किसानले स्याउ टिप्न थालेका छन्। मनाङको तल्लो क्षेत्रमा लगाइएका गाला, मेमा र रेड डेलिसियस प्रजातिका स्याउ टिप्न थालिएको हो। यहाँ विभिन्न स्याउमध्ये गाला, मेमा र रेड डेलिसियस, फुजी, किकु, रेड जोना, प्रिन्स र गोल्डेन प्रजातिका स्याउ उत्पादन हुँदै आएका छन्।

National life

मनाङमा लगाइएका विभिन्न प्रजातिमध्ये गाला, मेमा र रेड डेलिसियस स्याउ टिप्न थालिएको नासों गाउँपालिका–७ ताचैका किसान सोलबहादुर गुरुङले बताए। ‘केही वर्ष अघिदेखि लगाएका स्याउ अहिले फलेका हुन्। पाकेको छ, टिप्न थालेका छौं’, उनले भने। टिपेका स्याउ प्याकेजिङ गरी सुरक्षित रुपमा बजार लग्ने गरिएको उनले बताए। 

त्यस्तै, नासों–९ स्थित दानाक्यु एग्रो फार्ममा लगाइएको स्याउ पनि टिप्न थालिएको छ। पाँच जनाको समूहमा स्याउखेती गरेका फार्मका सञ्चालक राज गुरुङले यस समय पाक्ने प्रजातिको स्याउ टिप्न थालिएको जानकारी दिए। उनका अनुसार स्थानीयदेखि विभिन्न प्रजातिका विकासे स्याउ अहिले टिप्ने अवस्था भएको छ। 

किसान संगीता गुरुङ तमुले स्याउ टिपेर बजारमा पुर्याउन प्याकेजिङको काम भइरहेको बताइन्। मनाङमा उत्पादित स्याउ नेपालकै विभिन्न बजारमा खपत हुने गरेको उनको भनाइ छ। ‘स्याउ स्वादिलो र रसिलो हुनेहुँदा स्थानीय बजारमै खपत हुन्छ। विदेशसम्म पुग्नै पाउँदैन’, उनले भनिन्। 

यहाँ उत्पादित स्याउ बजारसम्म सुरक्षित रुपमा सग्लै पुर्याउन भने कठिन छ। सडकको अवस्था व्यवस्थित नहुँदा यहाँ उत्पादित स्याउ पूरै बिक्री हुन नपाएको किसान सोलबहादुरले बताए। ‘बाटोका कारणले बिक्रीका लागि ल्याइएकामध्ये आधा फाल्नुपर्ने अवस्था छ। बजारसम्म पुग्ने सडक सहज भइदिएको भए किसान खुसी हुने थिए’, उनले भने। 

कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले मनाङमा उत्पादित स्याउ विशेषगरी काठमाडौं र पोखराका बजारमा खपत हुने गरेको जानकारी दिए। ‘लामो बाटो छ। सहज बाटो छैन, जसले गर्दा उत्पादित वस्तुको मूल्य किसानले पाउन सकेका छैनन्। बाटो सहज भए यहाँका किसानको आय अझ वृद्धि हुन्छ’, उनले भने।

कोभिड संक्रमणको समय यहाँका स्याउ बजारसम्म पुर्याउन सकस भए पनि यस वर्ष स्याउ उत्पादन बढेको उनले बताए। 

यस क्षेत्रमा वर्षा नभए पनि सुक्खा पहिरो खसिरहने भएकाले स्याउ बजारसम्म पु¥याउन सकस रहेको हो। बाटो सहज बनाउन समय लाग्ने भएमा यहाँको स्याउ बजारसम्म पुग्न नपाउँदै कुहिन सक्ने अवस्था छ।

हाल सडक अवरुद्ध भए तत्कालै सहज बनाउन  डुम्रे–बेंसीसहर–चामे सडक आयोजना कार्यालयले विभिन्न स्थानमा स्काभेटर राखेर सहज बनाउने काम गरेको छ।–रासस

प्रकाशित: Aug 18, 2023| 16:12 शुक्रबार, भदौ १, २०८०
प्रतिक्रिया दिनुहोस्