मंगलबार, वैशाख २९, २०८३

गत आवमा यस्ता देखिए मुलुकका आर्थिक सूचक

शोधनान्तर स्थिति २ खर्ब ९० अर्ब ५२ करोडले बचतमा र कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ७४ करोड अमेरिकी डलर रहेको राष्ट्र बैंकको विवरण।
 |  शुक्रबार, भदौ १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १, २०८०

काठमाडौं– नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ।

National life

आज राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत वर्ष मुद्रास्फीति, चालू खाता घाटा, प्रत्यक्ष वैदेशिक लगानीलयातका सूचकांक खराब देखिएका छन् भने विप्रेषण, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतका सूचकांक सकारात्मक छन्।

सरकारले गत आवका लागि वार्षिक औसत उपभोक्ता मुद्रास्फीति सात प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेकोमा ७.७४ प्रतिशत पुगेको छ। अर्थात्, गत वर्षको मूल्यवृद्धिले सरकारले राखेको वाञ्छित सीमा नाघेको छ। त्यस्तै, गत आवमा समग्र वैदेशिक व्यापार घटेको छ। 

गत आवमा आयात १६.१ र निर्यात २१.४ प्रतिशतले घटेको छ। अघिल्लो आवमा आयात २४.७ र निर्यात ४१.७ प्रतिशतले बढेको थियो।

गत आवको अन्त्यसम्म चालू खाता ७२ अर्ब १६ करोडले घाटामा छ। समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २४.६ प्रतिशतले कमी आई ७ अर्ब ५४ करोड रहेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ९६ करोड कायम भएको छ। अघिल्लो आवमा प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ५६ करोड थियो।

गत आवमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१.२ र अमेरिकी डलरमा १२.१ प्रतिशतले बढेको छ। त्यस्तै, शोधनान्तर स्थिति २ खर्ब ९० अर्ब ५२ करोडले बचतमा छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति २  खर्ब ५५ अर्ब २६ करोडले घाटामा थियो।

कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ७४ करोड अमेरिकी डलर रहेको र यस्तो सञ्चितिले १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ। सोही अवधिमा विस्तृत मुद्राप्रदाय ११.४ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १२. ३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८ प्रतिशतले बढेको छ। गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप ५७ खर्ब १० अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा ४७ खर्ब ९७ अर्ब छ।

२०७९ असार मसान्तमा २००९.५ को बिन्दुमा रहेको नेप्से सूचकांक २०८० असार मसान्तमा २०९७.१ को बिन्दुमा कायम भएको छ। गत आवको असार मसान्तसम्म कुल धितोपत्र बजार पुँजीकरण ३० खर्ब ८२ अर्ब ५२ करोड कायम भएको छ।

प्रकाशित: Aug 18, 2023| 14:52 शुक्रबार, भदौ १, २०८०
प्रतिक्रिया दिनुहोस्