मंगलबार, वैशाख २९, २०८३

एक वर्षमा भित्रियो १२ खर्ब २० अर्ब रेमिट्यान्स

गत वर्षको तथ्यांकअनुसार रेमिट्यान्स आप्रवाह आव २०७८/७९ मा भन्दा २१.२ प्रतिशतले बढेर १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ नाघेको हो।
 |  शुक्रबार, भदौ १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १, २०८०

काठमाडौं– गत आर्थिक वर्ष २०७९/८० असार मसान्तसम्म १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) नेपाल भित्रिएको छ। गत वर्षको तथ्यांकअनुसार रेमिट्यान्स आप्रवाह आव २०७८/७९ मा भन्दा २१.२ प्रतिशतले बढेर १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ नाघेको हो।

National life

गत आवमा मासिक औसत १ खर्बभन्दा माथि रेमिट्यान्स भित्रिएको हो। आज नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यस आवमा अघिल्लो आवको तुलनामा २१.२ प्रतिशतले विप्रेषण वृद्धि भएको हो।

गत आवमा वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै रेमिट्यान्स वृद्धिमा सहयोग पुगेको हो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले बढेर ९ अर्ब ३३ करोड पुगेको छ, जबकि अघिल्लो आवमा यस्तो वृद्धिदर २.२ प्रतिशत थियो।

समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत (नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतले वृद्धि भई ४ लाख ९७ हजार ७०४ पुगेको छ। अघिल्लो वर्ष यस्तो संख्या ३९२ प्रतिशतले बढेको थियो।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २ लाख ७७ हजार २७२ पुगेको छ।

गत आवको मूल्यवृद्धि ७.७४ प्रतिशत

गत आर्थिक वर्ष २०७९/८० को औसत वार्षिक मूल्यवृद्धि ७.७४ प्रतिशत रहेको देखिएको छ। गत आवका लागि सरकारले वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेकामा ७ दशमलव ७४ प्रतिशत पुगेको देखिएको हो।

अघिल्लो आव यस्तो मुद्रास्फीति ६.३२ प्रतिशत थियो। अघिल्लो आवको तुलनामा आवमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेस्टुराँ तथा होटल उप–समूहको मूल्यवृद्धि १४.४२, मरमसलाको १२.५०, खाद्य तथा खाद्यजन्य पदार्थको १०.७०, सुर्तीजन्य पदार्थको ९.८८ र दुग्ध पदार्थ तथा अण्डाको ९.२३ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

साथै, गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको मूल्यवृद्धि १३.५०, मनोरञ्जन तथा संस्कृतिको १०.१८, स्वास्थ्यको १०.०१, शिक्षाको  ८.७९ र घरायसी उपयोगका वस्तुको ८.६५ प्रतिशत छ।

गत आवमा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.६२ प्रतिशत छ। अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति ५.६९ प्रतिशत थियो। २०८० असारमा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३८ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ।

गत आवमा गैरखाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ८.६२ प्रतिशत रहेको छ। अघिल्लो आव उक्त समूहको यस्तो मुद्रास्फीति ६.८३ प्रतिशत थियो। 

गत असारमा मात्र गैरखाद्य तथा सेवा समूहको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४८ प्रतिशत देखिएको छ। जबकि, २०७९ असारमा उक्त समूहको यस्तो मुद्रास्फीति ९.०३ प्रतिशत थियो।

राष्ट्र बैंकका अनुसार गत आवमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ७.५५, तराईमा ८, पहाडमा ७.५६ र हिमालमा ७.१२ प्रतिशत छ। अघिल्लो आव उक्त क्षेत्रमा यस्तो मुद्रास्फीति क्रमशः ५.७३, ६.४१, ६.८७ प्रतिशत र ६.०७ प्रतिशत थियो।

प्रकाशित: Aug 18, 2023| 14:16 शुक्रबार, भदौ १, २०८०
प्रतिक्रिया दिनुहोस्