काठमाडौं– सरकारले साना करदातालाई मूल्य अभिवृद्धि कर (भ्याट) मा सहुलियत दिएको छ। आन्तरिक राजस्व विभागले यसअघि वार्षिक १ करोडसम्म कारोबार विवरण मासिक बुझाउनुपर्नेमा चार महिने बनाएको हो।
आज विभागले सूचना जारी गर्दै साना करदातालाई कर सहभागिता लागत र समय दुवै घटाएर सहुलियत दिइएको बताएको हो। साना करदाताले अब साउनदेखि कात्तिकसम्मको कर विवरण २५ मंसिरभित्र बुझाउन सक्नेछन्।
यस्तै, मंसिरदेखि फागुनसम्मको विवरण २५ फागुनभित्र र चैतदेखि असारसम्मको कर विवरण २५ साउनभित्र पेस गर्ने सुविधा दिइएको छ। यद्यपि मासिक रुपमा कर विवरण बुझाउन चाहने करदातालाई सम्बन्धित आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयमा १५ दिनभित्र जानकारी गराउनसमेत विभागले आग्रह गरेको छ।
१ करोडमाथिको विवरण मासिक
विभागले वार्षिक १ करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीलाई भ्याट विवरण मासिक रुपमै बुझाउन आग्रह गरेको छ । यसअघि त्यस्ता करदाताले द्वैमासिक रुपमा कर विवरण दाखिला गर्दै आएका थिए।
‘मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम २६ मा संशोधन भई साविकमा रहेको इँटा उद्योग, होटल, पर्यटन तथा चलचित्र घरले चाहे विवरण पेस गर्ने अवधि चौमासिक कायम गर्न सक्नेछ भन्ने व्यवस्था खारेज भएको छ’, विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘संशोधित व्यवस्थाअनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएका वार्षिक १ करोड बढीको कारोबार भएका इँटा उद्योग, होटल, पर्यटन तथा चलचित्र घरले २०८० साउनदेखि मासिक रुपमा मूल्य अभिवृद्धि करको विवरण दाखिला गर्नुपर्नेछ।’
चालू आर्थिक वर्षको बजेट तथा मूल्य अभिवृद्धि कर नियमावली, २०५३ संशोधनअनुसार कर विवरण दाखिला अवधि परिवर्तन भएको विभागले जनाएको छ। विभागका सूचना अधिकारी राजुप्रसाद प्याकुरेलले बजेट तथा नियमावलीअनुसार कर विवरण दाखिलाको समय परिवर्तन भएको बताए।