मंगलबार, वैशाख २९, २०८३

एकैपल्ट नेपाल घुम्न आउँदै ७०० बंगलादेशी पर्यटक

एउटै कम्पनीमार्फत ठूलो समूहमा बंगलादेशी पर्यटक नेपाल भ्रमणमा आउन लागेको यो पहिलो पटक हो। 
 |  शुक्रबार, भदौ १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १, २०८०

काठमाडौं– जहाज चार्टर्ड गरेर एकैपल्ट बंगलादेशबाट ७०० पर्यटक नेपाल घुम्न आउने भएका छन्। आज र भोलि जहाज चार्टर्ड गरी बंगलादेशी पर्यटक नेपाल आउन लागेका हुन्।

National life

जहाज चार्टर्ड गरेर नेपाल आउने बंगलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गर्ने कार्यक्रम रहेको पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए। नेपाल आउने बंगलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले ‘ग्राउन्डह्यान्डलिङ’ गरेको हो 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीएन पाण्डेका अनुसार बंगलादेशबाट उडानमार्फत नेपाल आउन लागेको उक्त टोली हालसम्मकै ठूलो हो। राजधानी ढाकामा रहेको माउन्टेन क्लबमार्फत बंगलादेशी पर्यटक नेपाल आउन लागेका हुन्। यसले नेपालको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने पाण्डेले विश्वास व्यक्त गरे।

एउटै कम्पनीमार्फत ठूलो समूहमा बंगलादेशी पर्यटक भित्रिन लागेको यो पहिलो पटक हो। नेपालबाट नजिक दूरीमा रहेको बंगलादेश पर्यटकीय सम्भावना बोकेको गन्तव्य मुलुक हो।

ठूलो संख्यामा नेपाल भित्रिने बंगलादेशी पर्यटकको प्रचार–प्रसारबाट थप पर्यटक आकर्षण गर्न मद्दत पुग्ने बोर्डका निर्देशक लामिछानेले उल्लेख गरे। कोभिड–१९ पूर्व र कोभिड अवधिमा पनि उल्लेख्य संख्यामा बंगलादेशी पर्यटक नेपाल आएका थिए।

बोर्डको तथ्यांकअनुसार सन् २०२३ को सात महिनामा बंगलादेशबाट १३ हजार ६२४ पर्यटक नेपाल आएका थिए। जुलाईमा मात्रै २ हजार ६९४ बंगलादेशी पर्यटक नेपाल आएका छन्। जुनमा २ हजार ४०२, अप्रिलमा २ हजार २१७, मार्चमा २ हजार ४६६, फेब्रुअरीमा १ हजार ९०७ र जनवरीमा २ हजार ४६८ बंगलादेशी पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक छ।

यसअघि सन् २०२२ मा बंगलादेशबाट २५ हजार ३८४ पर्यटक नेपाल भ्रमणमा आएका थिए। बोर्डका अनुसार सन् २०२३ को सात महिनामा कुल ५ लाख ३४ हजार २०७ विदेशी पर्यटक भित्रिएका छन्।

प्रकाशित: Aug 18, 2023| 11:19 शुक्रबार, भदौ १, २०८०
प्रतिक्रिया दिनुहोस्