बिहीबार, साउन ७, २०८३

महिलाको मात्रै जिम्मेवारी हो अस्थायी साधन?

कुनै पनि कुराको प्रयोग गर्नुअघि डाक्टरको परामर्श नलिई सामाजिक सञ्जाल र साथीभाइका कुरामा विश्वास गर्दा अनिच्छित गर्भधारण गर्न बाध्य छन् महिला।
 |  शुक्रबार, भदौ १, २०८०

जमुना वर्षा शर्मा    

जमुना वर्षा शर्मा    

शुक्रबार, भदौ १, २०८०

पोखरा- पोखरा उपमहानगरपालिका-२५ की २३ वर्षीया एक युवतीको बिहे भएको एक वर्ष भयो। स्नातकोत्तर पढ्दै गरेकी उनी पढाइ पूरा गरेर मात्र सन्तान जन्माउने सोचमा छिन् तर परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्दा बाँझोपन हुन्छ कि भन्ने डर उनमा छ। उनी भन्छिन्, 'मलाई निकै डर लाग्छ कहिलेकाहीँ साथीसंगीले भन्ने गर्छन्, एउटा बच्चा नजन्मिँदै अस्थायी साधन प्रयोग गरेपछि बच्चा बस्न गाह्रो हुन्छ, बाँझोपन निम्तिन्छ भन्ने सुनेकाले डर लाग्छ।'

उनलाई मानसिक रुपमा त्यस्तो त्रासमा रहँदा उनका श्रीमानले पनि अस्थायी साधन प्रयोग गरेर त्यो समस्या दूर राख्न चाहन्थिन् तर श्रीमान् पनि अस्थायी साधनको प्रयोग गर्न रुचि नदेखाउने गरेको उनी बताउँछिन्। 'कहिलेकाहीँ यो यति तनावको विषय बन्छ कि श्रीमान् श्रीमतीबीचको सम्बन्ध राख्दा पनि कतै बच्चा बस्छ कि भन्ने तनाव मात्र हुन्छ। बच्चा बस्यो भने मेरो पढाइ रोकिन्छ कि भन्ने त्रास सधैं मलाई हुने गरेको छ', उनी भन्छिन्। आफूले भन्दा श्रीमानलाई अस्थायी साधन प्रयोग गर्न धेरैचोटी अनुरोध गरे पनि रुचि नदेखाएको उनको भनाइ छ।

एक निजी संस्थामा कार्यरत २४ वर्षीया अर्की महिला अनिच्छित गर्भ बसेपछि जागिर छोडेर घरमै बसेको बताउँछिन्। 'बिहे भएको डेढ वर्ष भयो, अहिले पाँच महिनाको गर्भ छ। केही वर्ष सन्तान नजन्माउने सोच थियो तर मैले अस्थायी साधन प्रयोग गर्दा पछि बच्चा नबस्न सक्छ भन्ने सुनें, श्रीमानले पनि प्रयोग गर्न मान्नुभएन,' उनले भनिन्, 'अनिच्छित गर्भ बसेपछि गर्भपतन गराउन चाहेको तर शुरुमै गर्भपतन गर्‍यो भने अर्को बच्चा बस्दैन बाँझोपन निम्तिन्छ भन्ने सुनेपछि अहिले सबै छोडेर बसेको छु। गर्भमा बच्चा बसेदेखि नै मलाई विभिन्न समस्या देखिएपछि अहिले आराम गर्नुपरेको छ।' 

झन्डै ७० हजार महिला सदस्य भएको यहाँ बुहारी समूह बाइएको छ। हरेक दिनजसो समूहका बुहारी सदस्यहरुले केही न केही आफ्ना समस्याहरु खुलेर राख्ने गर्छन्। त्यसमा एक महिलाले लेखेकी थिइन्, 'मेरो श्रीमानले परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्न मान्नुहुन्न। मेरो तीन वर्षकी छोरी छ, अझै केही वर्ष बच्चा नजन्माउने योजना गरेको। तर अनिच्छित गर्भाधान हुँदा दुईचोटी गर्भपतन गरें। सुई र अरु साधन प्रयोग गरे मोटाइन्छ रे, फेरि बच्चा बस्न गाह्रो हुन्छ भन्छन्। मलाई उपयुक्त सुझावको खाँचो छ।'

उनको पोष्टमा धेरैले तीन महिने सुई लगाउँदा राम्रो हुने त कतिले श्रीमानलाई नै अस्थायी साधन प्रयोग गर्न लगाउन सुझाव दिएका छन्। झट्ट हेर्दा सुन्दा सामान्य जस्तो लाग्ने यस्ता कुराले महिलालाई निकै तनाव दिने गरेको यी उदाहरणबाट पनि पाइन्छ। अधिकांशमा महिलाका लागि बनाइएका अस्थायी साधन सन्तान हुनुअघि नै प्रयोग गर्दा बाँझोपन आउन सक्छ भन्ने भ्रम रहेको पाइन्छ भने कतिपयले यसको प्रयोग गर्दा शरीरमा तौल बढाउँछ भनेर प्रयोग नगर्ने गरेका छैनन्।  

नेपालमा आर्थिक वर्ष २०७८-७९ मा तीन प्रतिशत महिलाले बन्ध्याकरण गरेका छन् भने र पुरुषको संख्या १ प्रतिशत छ। त्यसैगरी इम्प्लान्ट १४ प्रतिशत, डिपो ३८ प्रतिशत र पिल्स १९ प्रतिशत कपर टी (इयुसिडी) २ प्रतिशत छ भने पुरुषले प्रयोग गर्ने अस्थायी साधन कण्डमको प्रयोग जम्मा २३ प्रतिशत छ।

कुनै पनि कुराको प्रयोग गर्नुअघि डाक्टरको परामर्श नलिई सामाजिक सञ्जाल र साथीभाइका कुरामा विश्वास गर्दा अनिच्छित गर्भधारण गर्न महिला बाध्य भएको बताउँछन् स्त्री तथा प्रसुती रोग विशेषज्ञ मदन खड्का। 'पहिलो बच्चा नजन्मदै गर्भनिरोधक साधन प्रयोग गर्दा बाँझोपन हुन्छ भनेर समाजमा निकै गलत भ्रमहरु फैलिएका छन्। यो एकदम निराधार हो। विशेषज्ञको परामर्श बिना आफू खुशी प्रयोग गर्नु भएन, नत्र सबै कुरा सुरक्षित नै छन्। डराउनु पदैन', उनले भने, 'गर्भनिरोधक साधनको काम गर्भ बस्न नदिने मात्र हो, विभिन्न वैज्ञानिक परीक्षणबाट सफल भएर प्रयोगमा ल्याइने यस्ता साधनप्रति आफू अनुकूल तर्क प्रस्तुत गरेर निराधार हल्लाको पछाडि लाग्दा झनै  मानसिक र शारीरिक समस्या निम्तिन सक्छ।' उनले प्रजनन स्वास्थ्यको बारेमा राम्रो शिक्षा दिन आवश्यक भएको बताए।  

त्यसो त सन्तान जन्माउने विषय महिला र पुरुष दुबैको सहमति र सल्लाहमा हुनुपर्नेमा त्यो हुन नसकेको उनी बताउँछन्। 'हामीकहाँ बच्चा जन्माउने काम महिलाको हो भन्ने बुझाइ छ तर महिला शारीरिक र मानसिक रुपमा तयार नभएसम्म पुरुषले पनि साथ दिनुपर्छ। अस्थायी साधन पुरुषले पनि प्रयोग गरेर आफ्नो जीवनसाथीलाई साथ दिनुपर्छ।' उनले यो विषयमा पुरुष मानसिकता उदार हुन नसकेको बताए। 

अस्थायी गर्भनिरोधक साधनले प्राकृतिक हर्मोनलाई औषधि वा सुईको माध्यमबाट प्रतिकूल बनाइराख्ने र गर्भ बस्न नदिने  भएकाले यसको असर प्रयोग गरिरहँदासम्म मात्र हुने भएकाले चिन्ता लिनु नपर्ने उनको भनाइ छ। 'कतिपय महिलाले अस्थायी गर्भनिरोधक साधनको प्रयोग गर्न छाडेको केही महिनामा गर्भ बसेन बाँझोपन पो भयो कि भन्दै आउने गर्नुहुन्छ। अस्थायी गर्भनिरोधक साधन प्रयोग गर्न छोडेको केही समयभित्र नै सामान्य अवस्थामा नै आइसकेको हुन्छ।'

डाक्टर खड्काका अनुसार परिवार नियोजनको अस्थायी साधन डिपोप्रोभेरा, पिल्स, नरप्लान्ट, कण्डम, आइयुसिडी, डायफ्राम हुन्। यी अस्थायी साधनमध्ये कण्डम मात्रै पुरुषका लागि छ। उनले अस्थायी साधनहरु हर्मोन सञ्चयका लागि भएकाले महिलाले आफ्नो उमेरअनुसार जुनसुकै अस्थायी साधन प्रयोग गर्दा सम्बन्धित विज्ञको परामर्श लिनुपर्ने बताए। 

'मेरो शरीर मेरो अधिकार'को कुरा हुन्छ तर महिलाहरु शारीरिक र मानसिक रुपमा तयार नभई अनिच्छित गर्भधारणा गर्न बाध्य हुने क्रम निरन्तर जारी रहेको बताउँछिन् महिला मानवअधिकारकर्मी विना सिलवाल। 'प्रजनन् स्वास्थ्य अधिकारको सही संरक्षण आवश्यक छ, महिलालाई सन्तान जन्माउने बाध्यात्मक दायित्व बोकेको यन्त्रको रूपमा बुझ्ने सोच अब बदल्नु पर्छ।' उनले महिला सन्तान जन्माउने यन्त्रको रूपमा मात्रै प्रयोग भइरहेको र पारिवारिक दबाबका कारण प्रजनन् अधिकारको बारेमा खुलेर निर्णय गर्न नसकेको बताइन्।   

'विवाहपछि महिला सन्तान जन्माउने विषयमा निकै तनावमा देखिन्छन्। परिवार नियोजनको साधनको प्रयोग महिलाले नै गर्नुपर्ने यदि गरिएन भने पनि त्यसको नतिजा महिलाले नै भोग्नुपर्ने अवस्था देखिन्छ। बच्चा भएन भने पनि महिलालाई नै तनाब, अनिच्छित गर्भ बसे पनि त्यसको असर महिलामा नै परेको देखिन्छ।' सिलवालले परिवार नियोजनको जिम्मेवारी वास्तवमा महिला र पुरुष दुबैको भए पनि पुरुषले शारीरिक सम्बन्धको सन्दर्भमा अस्थायी साधनको प्रयोग बिना यौन आनन्द मात्र खोज्ने तर त्यसले निम्याउन सक्ने नतिजाको जोखिम महिलाले लिनुपर्ने अवस्था रहेको बताइन्। परिवार नियोजनको प्रयोगमा समान सहभागिता बढाउन प्रजनन स्वास्थ्य शिक्षाको व्यापक प्रचार साथै दम्पतीबीचको समझदारी आवश्यक हुने उनको बुझाइ छ। 

नेपालको संविधानको धारा ३८(२) मा ‘प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यसम्बन्धी हक हुनेछ’ भनिए पनि व्यावहारिक रुपमा महिलाले यसको प्रयोग गर्न नसकेको बताउँछिन् अधिवक्ता भगवती पहारी। उनी भन्छिन्, 'प्रजनन स्वास्थ्य तथा प्रजनन्सम्बन्धी हकलाई मौलिक हकका रूपमा संविधानमै व्यवस्था गरिएको छ तर के महिलाले यसको उपयोग गर्न पाएका छन् त भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने बेला आएको छ।' उनले कानुन अनुसारको व्यवहार नभएसम्म न्यायको प्रत्याभूत हुन नसक्ने बताइन्। उनी भन्छिन्, 'महिलाले परिवारको खुसीलाई केन्द्रविन्दुमा राख्ने हुँदा आफ्नो रहर र चाहना सबै छोडिदिन्छन् तर त्यसबाट निम्तिने सबै असरको भागिदार भने स्वयं महिला नै बन्नुपर्छ।' निकै कम पुरुषले मात्र गर्भनिरोधक साधन प्रयोग गर्ने गरेको तथ्यांकले पनि महिला प्रजनन् अधिकारको उपभोगबाट बञ्चित हुनुपरेको उनले बताइन्। 

अनिच्छुक गर्भ रहँदाको परिणाम त्योसँगै आउने शारीरिक र मानसिक पीडाको भागिदार पनि महिला नै हुनुपर्ने अवस्थाले महिलालाई प्रजनन् अधिकारबाट बञ्चित गराएको उनको बुझाइ छ। सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यको अधिकार सम्बन्धी ऐन २०७५ को दफा ११ मा बलपूर्वक परिवार नियोजनका साधन गराउन नहुने उल्लेख छ। दफा १२ मा बलपूर्वक गर्भनिरोधकका साधन प्रयोग गराउन नहुने सोही ऐनको दफा १२ मा व्यवस्था गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा आर्थिक वर्ष २०७८-७९ मा तीन प्रतिशत महिलाले बन्ध्याकरण गरेका छन् भने र पुरुषको संख्या १ प्रतिशत छ। त्यसैगरी इम्प्लान्ट १४ प्रतिशत, डिपो ३८ प्रतिशत र पिल्स १९ प्रतिशत कपर टी (इयुसिडी) २ प्रतिशत छ भने पुरुषले प्रयोग गर्ने अस्थायी साधन कण्डमको प्रयोग जम्मा २३ प्रतिशत छ। - रासस

प्रकाशित: Aug 18, 2023| 06:22 शुक्रबार, भदौ १, २०८०
प्रतिक्रिया दिनुहोस्