मंगलबार, फागुन २६, २०८२

कुखुरा पहिले कि अण्डा ? के अण्डा भेज हो ? यस्तो छ तथ्य

भारतको सर्वोच्च अदालतले अण्डा भेज हो कि ननभेज भन्ने विषयमा एउटा फैसला नै गरेको छ।
 |  बुधबार, साउन ३१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३१, २०८०

वर्षौंदेखि एउटा नसिकने बहस चलिरहेको छ- अण्डा पहिले कि कुखुरा ? यदि तपाईं कुखुरा पहिले भन्नुहुन्छ भने प्रश्न उठ्छ- पहिलो कुखुरा कुनचाहिँ अण्डाबाट निस्क्यो त? यदि तपाईं पहिले अण्डा भन्नुहुन्छ भने सवाल उठ्छ- पहिलो अण्डा कुन कुखुराले दियो? यो प्रश्न अनुत्तरित रहँदै आएको छ।

National life

अण्डालाई लिएर अर्को विवादित कुरा छ। मानिसको मथिंगल हल्लाइरहेको त्यो प्रश्न हो, अण्डा शाकाहारी कि मांशाहारी?

एकथरी भन्छन्, यो मांशाहारी हो। अर्काथरी भन्छन् - यो शाकाहारी हो। शाकाहारी मानिसले अण्डा खाने कि नखाने भन्नेबारेमा पनि धेरै विवाद भएको पाइन्छ। केहीले अण्डालाई शाकाहारी मानेर खाने गर्छन् भने कोही यसलाई मांशाहारी मानेर खाँदैनन्।

तर्कवितर्क आ-आफ्नै किसिमले गर्न सकिन्छ। तर तथ्यले के भन्छ? पहिले  कुखुरा कि अण्डा? अण्डा मांशाहारी कि शाकाहारी? आउनुस् तथ्यमा रहेर कुरा गरौं।

आजभन्दा करिब १५० मिलियन वर्षअघिको कुरा हो। धर्तीमा डाइनोसरको राज थियो। साना डाइनोसर, ठूला डाइनोसर, दौडिने डाइनोसर, उड्ने डाइनोसर। जताततै डाइनोसर। डाइनोसरको विकासक्रममा तिनको आकार सानो हुँदै गयो। जो उड्ने डाइनोसर थिए, तिनको आकार सानो हुँदै गएर चरामा रुपान्तरण भए। वैज्ञानिकहरुका अनुसार अहिले हामी जुन कुखुरा देखिरहेका छौं, यसको पुर्खा टिरेक्स जातको उड्ने डाइनोसर हो। अहिले पाइने सबैभन्दा ठूलो चरा अष्ट्रिचलाई नजिकबाट हेर्नुभयो भने डाइनोसरको 'भाइब्स' आउँछ।

Laxmi sunrise bank
kumari

उड्ने हुन् वा दौडिने- सबै डाइनोसरले अण्डा पार्थे। यसको अर्थ अण्डाको अस्तित्व करिब १५० मिलियन वर्ष अगाडिदेखि छ। कुखुराको इतिहास भने करिब ३ हजार ५ सय वर्षको छ। अर्थात् डाइनोसर कुखुरामा परिणत भएको ३५ सय वर्षजति मात्र भयो।

यो त्यही समय हो, जब मानिसहरुले दक्षिणपूर्वी एसियामा धान र कोदोको खेती गर्न थाले। यो देखेर नजिकको जंगलमा बस्ने एउटा जनावर आकर्षित हुन थाल्यो। त्यो जनावर अहिलेको कुखुराजस्तै देखिन्थ्यो। आफ्नो खेती खान आउन थालेको यो जनावरलाई मानिसले पाल्न थाले। कालान्तरमा यो अहिलेको कुखुरा बन्यो। अब भनिरहनु परेन, कुखुराभन्दा पहिले अण्डा।

अब अर्को प्रश्नमा लागौं। अण्डा भेज कि ननभेज? जो ननभेज भन्छन् उनीहरुको तर्क छ- अण्डामा जीवन हुन्छ, यसबाट बच्चा निस्किन्छ। त्यसकारण यो भेज होइन। खासमा अण्डा दुई किसिमको हुन्छ। एउटा हुन्छ हेप्लोइड अण्डा जुनमा फिमेल सेक्सेल हुन्छ र यसबाट बच्चा निस्किँदैन। यो अण्डा पोथी कुखुराले भालेसँगको संसर्गबिना नै पार्छ। अक्सर हामीले खाने अण्डा यही हो। बच्चा नबन्ने अण्डालाई दूधसँग पनि तुलना गर्छन् कतिपयले।

कुखुराको पोथीको ओभरीबाट निस्कनैबित्तिकै अण्डा निषेचित भयो भनेमात्रै त्यसमा जीवनको उत्पत्ति सम्भव छ, अन्यथा हुँदैन। अण्डा निषेचित हुन भाले र पोथीको संसर्ग हुन जरुरी छ। कुखुराको पोथीले भालेसँग संसर्ग नभए पनि अण्डा दिन्छन्।

अर्को हुन्छ डाइप्लोइड अण्डा जुन भाले र पोथी कुखुराको संसर्गबाट निस्किन्छ र यसबाट बच्चा बन्छ। यसमा मेल र फिमेल दुवै सेक्सेल हुन्छ र यसलाई कोरलेपछि चल्ला निस्किन्छ। यस अर्थमा अण्डा भेज पनि हुन सक्छ ननभेज पनि।

भारतको सर्वोच्च अदालतले अण्डा भेज हो कि ननभेज भन्ने विषयमा एउटा फैसला नै गरेको छ। धार्मिक स्थलमा अण्डा बेचेको भनेर परेको एउटा रिटमा सर्वोच्चले अण्डा भेज भएकाले बेच्न पाउने आदेश दिएको छ।

पोषणको दृष्टिबाट हेर्ने हो भने अण्डा भरपूर पोषणयुक्त खानेकुरा हो। यसमा प्रोटिन पर्याप्त पाइन्छ। साथै भिटामिन ए, बी१२, बी५, भिटामिन डी, सेलेनियम, आइरन, क्याल्सियम, जिंक, क्याल्सियम, एन्टिअक्सिडेन्ट आदिले भरिपूर्ण छ अण्डा। भिटामिन तथा खनिज अण्डाको पहेंलो भागमा हुन्छ र सेतो भागमा प्रोटिन हुन्छ।

अण्डामा कोलेस्टेरोल अत्यधिक हुन्छ। एक अण्डामा लगभग २१२ मिलिग्राम कोलेस्टेरोल हुन्छ। कोलेस्टेरोल अत्यधिक हुने भएकाले यसको कम उपयोग गर्नु राम्रो मानिन्छ। काँचो अण्डाभन्दा उसिनेको अण्डा वा पकाइएको अण्डा धेरै फाइदाकारी हुन्छ किनभने यसबाट हाम्रो शरीरले धेरै मात्रामा पोषक तत्व प्राप्त गर्न सक्छ।

अण्डा दुई रंगको हुन्छ सेतो र ब्राउन। कतिपयलाई लाग्छ- सेतो अण्डा राम्रो हो ब्राउनभन्दा। ब्रेड पनि त ब्राउन राम्रो हुन्छ सेतोभन्दा। अण्डाको सन्दर्भमा यस्तो हुँदैन। कुखुराको ब्रिडका कारण अण्डाको रंग फरक फरक हुन्छ। पोषणका हिसाबले दुवै अण्डा उस्तै हुन्छ।

प्रकाशित: Aug 16, 2023| 17:05 बुधबार, साउन ३१, २०८०
प्रतिक्रिया दिनुहोस्