मंगलबार, फागुन २६, २०८२

बुकी लेकमै पुगेर गोठालाको उपचार

 |  बुधबार, साउन ३१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३१, २०८०

बागलुङ- बागलुङको तमानखोला गाउँपालिका अधिकांश पशुपालक कृषक यतिबेला गुर्जाघाटमा छन्। गुर्जाघाट बागलुङ र म्याग्दीको सङ्गमस्थल हो।

National life

यसलाई स्थानीयवासीले बुकीका रुपमा चिन्छन्। करिब चार हजार मिटरको उचाइमा रहेको गुर्जाघाट यस याममा गोठ तथा पशुचौपायाले भरिएको छ।

तमानखोलासँगै ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र म्याग्दी धौलागिरि गाउँपालिकाका विभिन्न स्थानबाट गोठाला पशुचौपाया लिएर यहाँ पुगेका छन्। जेठ दोस्रो सातादेखि बुकी लागेका गोठाला अब असोजमा मात्रै बेसी झर्छन्।

करिब चार महिना लेकमै बस्ने गोठाला यस अवधिका लागि पुग्ने खर्चपर्च लिएर गएका हुन्छन्। खर्च सकिएपछि बेसी नै झर्नुपर्छ। गोठमा बस्ने, पशुचौपाया पाल्ने र निगालोका चोयाबाट विभिन्न सामग्री बुन्ने उनीहरुको दैनिकी हो।

गाउँघर र स्वास्थ्य संस्थाबाट टाढा हुने हुँदा गोठाला बिरामी पर्दा पनि बेसी झर्दैनन्। उनीहरु यस अवधिमा जडीबुटी र धामी झाँक्रीको भरमा बस्छन्।

Laxmi sunrise bank
kumari

बुकीमा एउटा पनि धारो छैन। गोठालाले पोखरी, रूखको टोड्का र खुला मूलको पानी प्रयोग गर्ने हुँदा समय–समयमा बिरामी पर्ने गर्छन्। बिरामी हुँदा कतिपयको गोठमै ज्यान जान्छ।

तमानखोलाले गोठालालाई लक्षित गरी बुकीमै पुगेर स्वास्थ्य शिविर सञ्चालन गरेको छ। बर्खाको समय विद्यालय बन्द हुने हुँदा बालबालिका पनि अभिभावकसँग बुकीमा जान्छन्।

बुकीमा बालबालिका र वृद्धवृद्धा सबै पुग्ने हुँदा उनीहरुका लागि शिविरमार्फत गोठमै स्वास्थ्य सेवाको व्यवस्था मिलाइको हो। गाउँपालिकाले तमानखोलाका मात्रै नभई गुर्जाघाटमा बस्दै आएका अन्य पालिका र जिल्लाका गोठालाको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको तमानखोलाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिए।

‘स्वास्थ्य संस्था पुग्न धेरै समय लाग्ने हुँदा बुकीमै उपचारको व्यवस्था मिलाएका हौँ’, उनले भने। तमानखोलाबाट गुर्जाघाट पुग्न एक दिनको पैदल यात्रा गर्नुपर्छ। अहिलेसम्म त्यहाँ सडक पुगेको छैन। बुकीभन्दा धेरैमाथि रहेका गोठालाले यस पटक सेवा लिन नपाएको अध्यक्ष बुढा मगरले बताए।

‘गोठाला उपचारका लागि कि ढोरपाटन पुग्नुपर्छ, कि बोङ्गादोभान नै आउनुपर्छ, त्यहाँ कोही बिरामी भयो भने उपचार पाउँदैन्, त्यसैले बुकीमै गएर स्वास्थ्य सेवा प्रदान गर्न थालेका हौँ’, अध्यक्ष बुढा मगरले भने।

स्वास्थ्य शिविरका लागि बुकी पुगेका स्वास्थ्यकर्मी हरिबहादुर छन्त्यालले धेरै जसो गोठालामा ज्वरो आउने, पखला लाग्ने, उच्च रक्तचापलगायत समस्या भएको बताए।

केहीलाई गम्भीर किसिमको रोग देखापरेकाले सुविधायुक्त अस्पतालमा जान सुझाएको उनको भनाइ छ। अध्यक्ष बुढा मगरसहित १२ जनाको टोली बुकी पुगेर शिविर सञ्चालन गरेको थियो। उनीहरुले एक सय बढी गोठालाको स्वास्थ्य उपचार गरेका थिए।

प्रकाशित: Aug 16, 2023| 10:02 बुधबार, साउन ३१, २०८०
प्रतिक्रिया दिनुहोस्