काठमाडौं- भारतको ७७औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंको चन्द्रागिरिस्थित विष्णुदेवी माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ।
भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशल, चन्द्रागिरि नगरपालिकाका वडाध्यक्ष घनश्याम लुइँटेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर सुवेदी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका आयोजना निर्देशक डिल्लीराम लुइटेलले संयुक्त रूपमा भवनको उद्घाटन गरेका हुन्।
नेपाल सरकारको भूकम्प उत्थानशील पुनर्निर्माण मापदण्ड अनुरूप करिब ६.९ करोड रुपैयाँ लागतमा भवनको निर्माण गरिएको हो।
यो विद्यालय भूकम्पपछिको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको अनुदान रकम ५० मिलियन अमेरिकी डलरअन्तर्गत नेपालका आठ जिल्लामा निर्माण भइरहेका ७१ शैक्षिक संस्थामध्येकै एक हो।